मुगु । मुगुमा कला, संस्कृति भेषभुषा र पर्यटनको उत्सवसहित प्रथम रारा महोत्सव सुरु भएको छ ।
कर्णालीको प्रमुख पर्यटकीयस्थल राराको पर्यटन प्रवर्द्धन र मुगु जिल्लाको कला संस्कृति भेषभुषाको संरक्षण र प्रचारप्रसारका लागि प्रथम रारा महोत्सव–२०८२ सोमबारबाट सुरु भएको हो ।
जिल्लाको व्यापार प्रवर्द्धन र कला संस्कृति जगेर्नाका लागि महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।
‘कला संस्कृती, भेषभुषा र पर्यटनको उत्सव’ नारा दिएर एच आर मिडिया प्रालिले आयोजना गरेको महोत्सवको छायाँनाथ रारा नगरपालिकाका मेयर बिष्णु कुमार भामले उद्घाटन गरेका हुन् ।
रारा तालको पर्यटन प्रवर्द्धन गर्न र मुगु जिल्लाका कला संस्कृति भेषभुसाको उजागर तथा प्रचारप्रसार गर्ने उदेश्यसहित महोत्सव आयोजना गरियको एच आर मिडिया प्रालिले जनाएको छ ।

मुगुका स्थानीय कृषि पेसा व्यवसाय र सेवा प्रदायकहरूका वस्तु तथा सेवा बिक्री वितरण हुने गरि महोत्सवमा स्टलको व्यवस्थापन गरिएको महोत्सवका अध्यक्ष नरेश भामले बताए ।
महोत्सवमा पर्यटन क्षेत्र संरक्षण, सांस्कृतिक र औद्योगिक क्षेत्र विकासका लागि बलियो आधार हुने भएकाले जेठ १८ गतेदेखि जेठ ३१ सम्म महोत्सव हुने अध्यक्ष भामले बताए ।
आयोजकका अनुसार महोत्सवमा ४० स्टल राखिएका छन् । स्टलमा मुगुमा पाइने सबै प्रकारका वाणिज्य र औद्योगिक सामग्री उपलब्ध हुने छन् । स्टल राख्दा बाहिरी जिल्लाको भन्दा स्थानीय ब्यापारीलाई ३० प्रतिशतले छुट दिइएको छ ।
मुगुमा आजसम्म कुनै पनि ठूलो महोत्सवको आयोजना भएको छैन । यो महोत्सव पहिलो पटक आयोजना गरियको छ । यसैगरी प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति हुने छन् ।
प्रतिक्रिया दिनुहोस