काठमाडौं । आइडीपी एजुकेसनले आफ्नो आम्दानी र मुनाफामा गिरावट आउने संकेत गरेको छ ।
अन्तर्राष्ट्रिय विद्यार्थीलाई शैक्षिक सेवा प्रदान गर्दै आएको अस्ट्रेलियन कम्पनी आइडीपी एजुकेसनले भिसा सम्बन्धी कडाइका कारण आफ्नो आम्दानी र मुनाफामा तीव्र गिरावट आउने संकेत गरेको हो ।
कम्पनीका अनुसार सरकारी नीतिमा भएको परिवर्तनको असर सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्य एकै दिन ४८.३ प्रतिशतले घटेको छ । कम्पनीले अस्ट्रेलियासँगै बेलायत, अमेरिका, क्यानडा लगायतका प्रमुख गन्तव्य मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सेवा दिँदै आएको छ ।
पछिल्लो समय यी देशहरूले अध्यागमन नीतिमा कडाइ गरेपछि विद्यार्थीको मागमा गिरावट आएको हो ।
बेलायतले विद्यार्थी अध्यागमनमा कडाइ गरेको छ भने अष्ट्रेलिया र क्यानडामा चुनावपछि आप्रवासन नीतिमा थप कडाइ गरिएको छ । अमेरिका पनि डोनाल्ड ट्रम्पको नेतृत्वमा कडिएको देखिएको छ, जसले विद्यार्थी भिसा रद्द गर्ने र आप्रवासीलाई डिपोर्ट गर्ने क्रम बढाएको कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष २०२५ मा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना संख्या २८ देखि ३० प्रतिशतले घट्न सक्ने कम्पनीले अनुमान गरेको छ । यस्तै, आइइएलटीएस परीक्षा दिने विद्यार्थीको संख्यामा पनि १८ देखि २० प्रतिशतले गिरावट आउने प्रक्षेपण गरिएको छ । यस परीक्षामा आइडीपीको लगानी ब्रिटिश काउन्सिल र क्याम्ब्रिज युनिभर्सिटी प्रेससँग मिलेर रहेको छ ।
यद्यपि सेवा शुल्कमा गरिएको समायोजनले आम्दानीमा केही राहत दिने अपेक्षा गरिएको छ । कम्पनीले सन् २०२५ मा ११५ मिलियनदेखि १२५ मिलियन अष्ट्रेलियन डलरसम्म आम्दानी हुने अनुमान गरेको छ, जुन सन् २०२४ को २३९।४ मिलियन डलरसँग तुलना गर्दा आधाभन्दा बढीको गिरावट हो ।
कम्पनीले उत्पन्न चुनौती सामना गर्न विविध रणनीतिहरू अपनाइरहेको बताउँदै अध्यागमनमा कडाइ अस्थायी भएको र दीर्घकालीन रूपमा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा सम्भावना अझै पनि बलियो रहेको उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस