विराटगनर । संघीय सरकारले जेठ १५ गते १९ खर्व ६४ अर्व ११ करोडको बजेट सार्वजनिक गरेको थियो । सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गरेका हुन् ।
सार्वजनिक बजेट अनुसार अर्थ मन्त्रालयले सोमबार अन्तर सरकारी वित्तीय हस्तान्तरण (प्रदेश र स्थानीय तह) २०८२/८३ सार्वजनिक गरेको थियो ।
अर्थ मन्त्रलयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण २०८२/०८३ अनुसार कोशी प्रदेश सरकारले १४ अर्व ५० करोड ३३ लाख बजेट पाएको छ ।
चालु आर्थिक वर्षका लागि कोशी प्रदेश सरकारले संघीय सरकारबाट १४ अर्व ५४ करोड २६ लाख बजेट पाएको थियो । चालु आ.व.को भन्दा आगामी आर्थिक वर्षको लागि कोशी प्रदेश सरकारले पौने तीन करोड कम बजेट पाएको छ ।
विगतमा आर्थिक वर्षको अन्त्यतिर समानीकरण अनुदान कटौती गर्दै आएको संघीय सरकारले २०८२/०८३ मा भने शुरुमै घटाएर पठाएको छ ।
अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारले प्रदेश तथा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान, विशेष अनुदान, सर्शत अनुदान र समपुरक अनुदान गरी विभिन्न शीर्षकमा अनुदान दिन्छ ।
सोही शिर्षकमा स्थानीय तहलाई भने प्रदेश सरकारले पनि अनुदान पठाउँछ र स्थानीय तहले सोही अनुसार बजेट बनाउँछन् । कोशी प्रदेशमा १४ वटा जिल्ला रहेका छन् भने १३७ वटा स्थानीय तह रहेका छन् ।
कोशी प्रदेशको एक मात्र महानगरपालिका सहित १७ स्थानीय तह रहेको मोरङले ८ अर्व ७१ करोड ६५ लाख बजेट पाएको छ । जसमा विराटनगर महानगरपालिकाले १ अर्व १७ करोड ६८ लाख बजेट पाएको छ ।
मोरङमा ८ वटा नगरपालिकाले ४ अर्व ४१ करोड ८९ लाख बजेट पाएका छन् । जसमा सबैभन्दा बढी बजेट सुन्दरहरैँचा नगरपालिकाले ९७ करोड ३ लाख बजेट पाएको छ भने सबैभन्दा कम लेटाङ नगरपालिकाले ३६ करोड ५० लाख बजेट पाएको छ ।
आठ वटा गाउँपालिकाले ३ अर्ब १२ करोड ८ लाख रुपैया बजेट पाएका छन् । जसमा सबैभन्दा बढी बुढीगंगा गाउँपालिकाले ४२ करोड ५३ लाख बजेट पाएको छ भने सबैभन्दा कम कानेपोखरी गाउँपालिकाले ३६ करोड ९१ लाख बजेट पाएको छ ।
त्यसैगरी बजेट पाउनेमा दोस्रो झापा रहेको छ । प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा ८ वटा नगरपालिका र ७ वटा गाउँपालिका छन् । विनियोजित बजेटमध्ये मेची नगरपालिकाले सबैभन्दा बढी १ अर्ब १० करोड ७१ लाख रुपैयाँ बजेट पाएको छ । सबैभन्दा कम गौरदह नगरपालिकाले ४१ करोड ३४ लाख रुपैयाँ बजेट पाएको छ ।
झापाको गाउँपालिकामध्ये सबैभन्दा बढी बजेट पाउनेमा कमल गाउँपालिकाले ४८ करोड ४१ लाख पाउँदा सबैभन्दा कम हल्दिबारी गाउँपालिकाले ३२ करोड ३४ लाख रुपैयाँ बजेट पाएको छ ।
त्यसैगरी दुई उपमहानगरपालिका, चार वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको सुनसरीले ६ अर्व ५१ करोड २६ लाख बजेट पाएको छ । इटहरी उपमहानगरपालिकाले १ अर्व २१ करोड ४४ लाख बजेट पाउँदा धरान उपमहानगरपालिकाले भने ८९ करोड २९ लाख बजेट पाएको छ ।
चार नगरपालिका रहेको सुनसरीमा बराहक्षेत्र नगरपालिकाले ७० करोड ५१ लाख बजेट पाउँदा दुहवी नगरपालिकाले सबैभन्दा कम ४३ करोड ९३ लाख बजेट पाएको छ । ६ गाउँपालिका रहेकोमा सबैभन्दा कम बजेट गढी गाउँपालिकाले ३२ करोड १५ लाख बजेट पाएको छ भने सबैभन्दा बढी हरिनगर गाउँपालिकाले ४३ करोड ६१ लाख बजेट पाएको छ ।
चार नगरपालिका र चार गाउँपालिका रहेको उदयपुरले ४ अर्व २२ करोड २२ लाख बजेट पाएकोमा सबैभन्दा बढी त्रियुगा नगरपालिकाले १ अर्व ०८ करोड ७१ लाख बजेट पाउँदा बेलका नगरपालिकाले ५० करोड ८३ लाख बजेट पाएको छ ।
उदयपुरको उदयपुर गाउँपालिकाले सबैभन्दा बढी ४८ करोड ८८ लाख बजेट पाउँदा लिम्चुङबुङ गाउँपालिकाले सबैभन्दा कम २३ करोड ९७ लाख बजेट पाएको छ ।
त्यस्तै एक नगरपालिका र सात गाउँपालिका रहेको ओखलढुंगा जिल्लाले २ अर्व ८८ करोड १८ लाख बजेट पाएको छ । सिद्धिचरण नगरपालिकाले ५४ करोड ५१ लाख बजेट पाएको छ । मानेभञ्ज्याङ गाउँपालिकाले सबै भन्दा बढी ३७ करोड १६ लाख बजेट पाउँदा सबैभन्दा कम लिखु गाउँपालिकाले २८ करोड ३४ लाख बजेट प्राप्त गरेको छ ।
२ अर्व ६८ करोड २४ लाख बजेट पाएको सोलुखुम्बुमा एक नगरपालिका र सात गाउँपालिका रहेका छन् । जसमा सिद्धिचरण नगरपालिकाले ५३ करोड ६४ लाख बजेट पाएको छ । लिखुपिके गाउँपालिकाले सबैभन्दा कम २० करोड ६६ लाख बजेट पाउँदा सबैभन्दा बढी थुलुङ दुधकोशी गाउँपालिकाले ४८ करोड ३५ लाख बजेट प्राप्त गरेको छ ।
दुई नगरपालिका र ८ गाउँपालिका रहेको खोटाङले ३ अर्व ८१ करोड ६० लाख बजेट पाउँदा २ नगरपालिका र ७ गाउँपालिका रहेको भोजपुरले ३ अर्व २३ करोड ६ लाख रुपैया बजेट प्राप्त गरेको छ । ३ नगरपालिका र ४ गाउँपालिका रहेको धनकुटाले २ अर्व ९५ करोड ६९ लाख बजेट प्राप्त गरेको छ भने २ नगरपालिका ४ गाउँपालिका रहेको तेह्रथुमले २ अर्व १० करोड ३२ लाख बजेट प्राप्त गरेको छ ।
त्यसैगरी ५ नगरपालिका र ५ गाउँपालिका रहेको संखुवासभाले ३ अर्व ४४ करोड ४६ लाख बजेट पाउँदा ४ नगरपालिका र ६ गाउँपालिका रहेको इलाम जिल्लाले ४ अर्व २ करोड ४८ लाख बजेट पाएको छ । ७ गाउँपालिका र एक नगरपालिका रहेको पाँचथरले ३ अर्व २६ करोड १ लाख रुपैया बजेट प्राप्त गर्दा एक नगरपालिका र ८ गाउँपालिका रहेको ताप्लेजुङले ३ अर्व २२ करोड १७ लाख बजेट प्राप्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस