विराटनगर । कोशी प्रदेशको आर्थिक वृद्धिदर ३.३४ प्रतिशत हुने अनुमान गरिएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरद्धारा शनिबारको प्रदेश सभामा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण रिपोर्टले चालु वर्षमा प्रदेशको आर्थिक वृद्धि राष्ट्रिय स्तरमा कम रहेको उल्लेख छ ।
आगामि आर्थिक बर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो दिन सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण अनुसार कोसी प्रदेशको समग्र पुँजी ९ खर्ब ७० अर्ब ७४ करोड रहेको अनुमान छ । कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३४.०४ प्रतिशत, सेवा क्षेत्रमा ४९.९ प्रतिशत, उद्योग क्षेत्रमा १६.०५ प्रतिशत रहेको छ । कुल ग्राहस्थ उत्पादनमा प्रतिव्यक्ति आय १४०१ अमेरिकी डलर रहेको कोसी प्रदेशको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
आर्थिक बर्ष २०७९/०८० मा प्रादेशिक आय ३५ अर्ब ९५ करोड ५३ लाख रहेको थियो । आर्थिक वर्ष २०८०/०८१ मा आउँदा त्यो घटेर ३२ अर्ब २५ करोड पुगेको संर्वेक्षण पिोर्टमा जनाईएको छ ।
आव २०७९/०८० कोसी प्रदेशको कुल खर्च ३० अर्ब ७५ करोड ७७ लाख रहेकोमा त्यसमा बजेटकै कमीका कारण आर्थिक वर्ष २०८०/०८१ मा २८ अर्ब २ करोड ७५ लाखमा सीमित भएको उनको भनाई छ । प्रादेशिक खर्चको अनुपातमा घटेको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा पुँजीगत बजेटको ८०.१ प्रतिशत खर्च हुँदा प्रदेशको कुल खर्च मध्ये चालु र पुँजीगतको अनुपात ४१.७ र ५८.३ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल प्रादेशिक खर्च १६ अर्ब ७२ करोड १८ लाख अर्थात् ४७.४ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा देखाइएको छ । कुल प्रादेशिक आयमा संघीय सरकारबाट प्राप्त हुने अनुदान ४२ प्रतिशत, प्रादेशिक राजश्व ४१.६ प्रतिशत र अन्य प्राप्तिको अनुमान १६.४ प्रतिशत छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको वैशाखसम्ममा स्थानीय तहलाई ३ अर्ब २१ करोड ७ लाख हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा ३ अर्ब ३० करोड २८ लाख हस्तान्तरण गरेको थियो ।
प्रदेशमा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ५० करोड ५० लाख राजश्व सङ्कलन भएको छ ।
कोशी प्रदेश सरकारले ७ बर्षमा गरेको प्रगति
कोशी प्रदेश सरकार स्थापना भएको ७ वर्षमा गरेका प्रगति विवरणसहित सार्वजनिक गरेको आर्थिक सर्वेक्षण रिपोर्ट अनुसार २०८०/०८१ मा १ अर्ब ५ करोड बेरुजु फछ्र्यौट गरिएको छ ।
प्रदेशमा रहेका मालपोत कार्यालयहरूबाट चालू आर्थिक वर्षको चैतसम्ममा ३ अर्ब ७९ करोड ८५ लाख राजस्व सङ्कलन गरेको छ । गत वर्ष यही अवधिमा ३ अर्ब ५० करोड ५० लाख राजस्व सङ्कलन भएको थियो । जसमा पुँजीगत लाभकरको हिस्सा ३३.७ प्रतिशत थियो ।
सहकारी थपिने गति कम भएको छ । कोसी प्रदेशमा २२ लाख ५४ हजार ५८६ व्यक्ति सहकारीमा आबद्ध रहेका छन् । १५ हजार ३९९ सहकारी क्षेत्रमा रोजगारी प्राप्त गरेको सरकारको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
कोसी प्रदेशमा गरिबीको रेखामुनि रहेका नागरिक जनसङ्ख्याको १७ दशमलव २ प्रतिशत छ, कोसीबाट १ लाख ६५ जनाले श्रम स्वीकृत लिएर १७ प्रतिशत महिला छन् । देशभरबाट श्रम स्वीकृति लिने संख्याको २१.७ प्रतिशत छ ।
कोसीमा ८५ हजार ९१९ उद्योग, हिमाल आरोहण गरेर आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब ३९ करोड ३५ लाख रोयल्टी सङ्कलन भएको छ ।
कोसी प्रदेशको पर्यटन विकास आयोजनाबाट २०७५/०७६ देखि हालसम्म १ हजार ७४ वटा पर्यटकीय पूर्वाधार निर्माण भएको, ९६ आयोजनाको विस्तृत अध्ययन गरिएको छ ।
प्रदेशमा हाल ३ लाख ५९ हजार ९६० हेक्टर जमिनमा सिँचाइ सुविधा प्रतिवेदनमा उल्लेख छ । कोशीमा वर्षैभरि सिँचाइ सुविधा पुगेको क्षेत्रफल ३७.३ प्रतिशत छ । साना सिँचाइ कार्यक्रम मार्फत प्रदेश सरकारले १ हजार १५७ वटा कृषक कुलो सुधार भएर २० हजार ४ सय हेक्टर जमिनमा सिँचाइ सुविधा व्यवस्थित गरेको छ । प्रदेशमा हालसम्म ३९० किलोमिटर तटबन्ध निर्माण भएको छ भने ८३ वटा पहिरो व्यवस्थापनको काम भएको छ ।
यस्तै प्रदेश सरकारबाट निर्माणाधीन ७७ वटा बहुवर्षीय सडक आयोजनामध्ये २०८१ चैत सम्ममा ३९ वटा सडक निर्माण सम्पन्न भएको छ । ती सडकको जम्मा लम्बाई ४ सय ४८.६४ किलोमिटर रहेको छ । कोशी प्रदेश सरकार स्थापना भए यता गत चैत मसान्तसम्ममा ९३ वटा मोटरेबल पुल, २२४ झोलुङ्गे पुल निर्माण भएको छ ।
यस अवधिमा १ हजार ४२०.५७ किलोमिटर ग्राभेल, १ हजार २ सय किलोमिटर कच्ची सडक र ६१२ किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ ।
प्रदेशले यो अवधिमा जनता आवास कार्यक्रम मार्फत ७ हजार २ सय ८४ वटा घर निर्माण गरी आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायको नागरिकलाई हस्तान्तरण गरेको जनाएको छ ।
कोशी प्रदेशका ९३.०६ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको सुविधा पुगेको रिपोर्टमा जनाईएको छ । प्रदेश सरकारले सञ्चालन गरेका खानेपानी आयोजनाबाट मात्रै ४५ लाख ९ हजार ४ सय ३० जनसङ्ख्या लाभान्वित भएको उल्लेख छ ।
कोशी प्रदेशको कूल जनसंख्याको ९९.३ प्रतिशत जनसंख्या विद्युतको पहुँच पुगेको जनाईएको छ । आर्थिक वर्ष २०८१/८२ को फागुनसम्ममा विद्युत् उत्पादन ६३१ मेगावाट पुगेको छ ।
कोशी प्रदेशमा स्वास्थ्यको पहुँचमा पनि वृद्धि हुँदै गएको छ । प्रदेशलाई पूर्ण खोप प्रदेश घोषणा गरिएको छ । चालू आर्थिक वर्षको फागुनसम्ममा कोशी प्रदेशमा विभिन्न व्यक्तिले अन्तरङ्ग, बहिरङ्ग र आकस्मिक सेवा गरी ७५ लाख ३३ हजार पटक स्वास्थ्य संस्थाबाट सेवा लिएका छन् ।
प्रदेशको सरदर आयु ७०.४ वर्ष रहेको छ । यस प्रदेशको नवजात शिशु मृत्यु दर प्रति हजार जीवित जन्ममा २० रहेका छ । प्रति लाख जीवित जन्ममा मातृ मृत्युदर कोशी प्रदेशमा १५७ रहेको छ ।
कोशी प्रदेशका सबै तहका अस्पताल २२५ र आधारभूत स्वास्थ्य सेवा केन्द्र १ हजार ४५७ गरी १ हजार ६३५ वटा स्वास्थ्य संस्था रहेका छन् । आयुर्वेद स्वास्थ्य संस्थाको सङ्ख्या ११८ वटा रहेको छन् । कोशी प्रदेशमा विगत सात वर्षमा २४८ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ ।
कोशी प्रदेशमा हालसम्म ठुला २५२, मझौला ३९९ र साना ८५ हजार २७० वटा गरी जम्मा ८५ हजार ९१९ वटा उद्योग सञ्चालनमा छन् । कोशीमा २०८१ चैत मसान्तसम्ममा लघु, घरेलु तथा साना उद्योगको सङ्ख्या ९८ हजार ६ सय १४ रहेको छ । ती उद्योगमा प्रस्तावित कूल लगानी १ खर्ब २४ अर्ब ७१ करोड र कूल प्रस्तावित रोजगारी १ लाख ५५ हजार ३ सय २२ रहेको छ ।
कोशी प्रदेशमा मोबाइल बैंकिङ सेवा लिने ग्राहकको संख्या २०८१–८२ को चैतसम्म ३८ लाख ५८ हजार पुगेको छ । २०८१ फागुनसम्म कोशी प्रदेशमा कुल ४९१ बीमांक संख्या रहेका छन् । कोशी प्रदेशमा २०८१ फागुनसम्म बीमा प्रिमियम बापत सङ्कलन भएको रकम १६ अर्ब १ करोड पुगेको छ ।
प्रदेशमा २०८० चैत्रसम्ममा १६० वटा विद्यालयमा विद्यालय नर्सिङ कार्यक्रम सञ्चालन रहेकोमा २०८१ चैत्रसम्म १७९ विद्यालयमा विस्तार भएको छ । यस कार्यक्रमबाट १ लाख ५६ हजार विद्यार्थी लाभान्वित भएका छन् । प्रदेश स्थापना भएदेखि २०८१ चैत्र मसान्तसम्म जम्मा ६७ वटा ऐन, ३३ वटा नियमावलीहरू, ५ वटा गठन आदेश, ३ वटा नीतिहरू र ८८ वटा अन्य कानुनहरू निर्माण भएका छन् ।
प्रगति प्रतिवेदनमा सडक, पुल, खानेपानी, सिँचाइलगायत स्वास्थ्य र सामाजिक क्षेत्रमा गरेको प्रगतिको विवरण उल्लेख छ । प्रदेश सरकारले सुशासन र आर्थिक अनुशासनमा पनि सुधार गर्दै लगेको तथ्याङ्क प्रतिवेदनमा छ ।
प्रतिक्रिया दिनुहोस