विराटनगर । कोशी प्रदेश सरकारले विगतदेखि नै बजेट प्रस्तुत गर्दा नाराहरु पनि त्यतिकै मात्रामा प्रस्तुत गर्ने गरेको छ । आगामी आर्थिक वर्षको लागि ३५ अर्ब ८७ करोड ९९ लाख बजेट ल्याएको कोशी प्रदेश सरकारको बजेट वक्तव्यमा २२ वटा नारा उल्लेख छन् ।
सरकारको नीति तथा कार्यक्रम र बजेट खर्चको लागि विभिन्न नाराहरु सार्वजनिक गर्दै आएको प्रदेश सरकारले आगामि आर्थिक बर्षको बजेटमा २२ वटा नारा प्रस्तुत गरेको छ । जसमा “सक्षम छोरी कार्यक्रम” थप नयाँ नारा हो । चालु आर्थिक वर्षसम्म २१ वटा नारा थिए ।
मुसहर समुदायका छोरीको शिक्षामा पहुँच पढाउँदै आर्थिक सामाजिक रुपान्तरणका लागि “सक्षम छोरी कार्यक्रम” नारा दिएको प्रदेश सरकारले नमुनाको रुपमा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । जसको लागि १ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
त्यसैगरी “स्वस्थ माटो, स्वच्छ बाली” नारा दिएको कार्यक्रम माटो जाँच गरी माटोको गुणस्तर सुधार गर्न प्राङ्गारिक मल उत्पादन तथा प्रयोगमा प्रोत्साहन र स्थानीय तहसँगको सहकार्यमा प्राङ्गारिक खेती प्रवद्र्धन गर्ने जनाईएको छ । जसको लागि ८ करोड बजेट विनियोजन गरिएको छ ।
“कृषक सबैभन्दा अगाडि” भन्ने मुल नाराका साथ व्यवसायिक कृषकको पहिचाहन तथा सम्मान गरिने उल्लेख छ ।
नवउद्यमी युवालाई कृषि पेशामा आकर्षित गर्न सेवा निवृत्त कृषि प्राविधिक, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीमार्फत अभियान सञ्चालनको लागि आवश्यक बजेट विनियोजन गरिएको भनिएको छ ।
“एक निर्वाचन क्षेत्र, एक विशिष्ठ उद्यम” नारा सहित सञ्चालन गरिने कार्यक्रमको लागि बजेट विनियोजन गरिएको वजेट वक्तव्यमा उल्लेख छ ।
सार्वजनिक नारामा “कोशी प्रदेश लगानी सम्मेलन” मा लगानी प्रतिवद्धता गरीी स्थापना हुने उद्योगबाट उत्पादित वस्तुको ब्रान्ङ्गि तथा बजारीकरणका लागि आवश्यक बजेट विनियोजन गरिएको जनाईएको छ ।
“प्रदेशको समृद्धिको लागि वन” भन्ने मूल नाराका साथ प्रदेश भित्रका राष्ट्रिय वन प्रणालीको सम्वद्र्धन र व्यवस्थापन गर्न आवश्यक बजेटको व्यवस्था गरेको सरकारले वन क्षेत्रका खाली र नदी उकास जग्गामा फलफूल, जडीबुटी तथा उच्च मुल्यका वनस्पतीको वृक्षारोपण गरी उत्पादकत्व वृद्धि गर्न २ करोड ६० लाख बजेट विनियोजन गरेको छ ।
“वन भूमि र जैविक विविधताको दीगो व्यवस्थापनको लागि क्षमता अभिवृद्धि आयोजना” प्रदेश सरकारको विगतदेखिकै नारा हो । जुन नारा सहित यो कार्यक्रम तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम र संखुवासभा जिल्लामा कार्यान्वयन भईरहेको छ । यसको लागि बजेट खुलाईएको छैन ।
कोशी प्रदेशका धेरै नारा विगत देखिकै हुन् । जुन नाराहरुको अहिलेसम्म निरन्तरता पाईरहेका छन् ।
कोशी प्रदेश सरकारको अर्को नारा हो “संरक्षित जलाधार, समृद्धिको आधार” । समुदायमा आधारित एकिकृत भू तथा जलाधार संरक्षण, भूमिगत जल पुनर्भरण पोखरी तथा चुरे क्षेत्रमा संवेदनशील जग्गाको संरक्षण लागि एकिकृत संरक्षण कार्यक्रमलाई निरन्तरता दिईएको छ । संवेदनशील तथा जोखिमयुक्त जलाधार क्षेत्रको संरक्षण, नदी किनारमा साना तटबन्ध, भौतिक पूर्वाधारको संरक्षण भू–संरक्षण मैत्री खेतीका लागि ११ करोड ९५ लाख बजेट विनियोजन गरिएको छ ।
“कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाइ सम्मान” भन्ने मूल नाराका साथ सुरु गरिएको कोशी प्रदेश पर्यटन बर्ष २०८२ लाई पर्यटन आधार बर्षको रुपमा सञ्चालन गर्ने उल्लेख गरिएको छ । जसको लागि १० करोड बजेट विनियोजन गरिएको छ ।
त्यस्तै कोशी प्रदेश सरकारले “पढ्दै कमाउँदै कार्यक्रम”, “कोशी प्रदेश खेलकुद ग्राम”, “कोशी प्रदेशको सान, जेष्ठ नागरिकको सम्मान”, “प्रादेशिक संग्राहालय”, “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी”, “कोशी प्रादेशिक घुम्ती अस्पताल सेवा”, “एक घर एक धारा”, नारा अघि सारेको छ । यी नारा सहितको कार्यक्रमका लागि बजेट भने उल्लेख गरेको छैन् ।
“समृद्ध नेपा, सुखी नेपाली” को राष्ट्रिय नारालाई साकार पार्न “स्वच्छ, सुखी र समुन्नत प्रदेश” नारा सहित अघि बढेको कोशी प्रदेश सरकारले “प्रादेशिक सडक सञ्चालन गुरुयोजना” तर्जुमा गरी कार्यान्वयनमा ल्याउन र प्रदेश सरकारबाट निर्मित सडक तथा सडकपुलको नियमित, आकस्मिक र आवधिक मर्मत सम्भारलाई व्यवस्थित गर्न ६५ करोड बजेट विनियोजन गरेको छ ।
त्यस्तै सडक न्युनिकरण गर्ने भन्दै “सडक सुरक्षा कार्यक्रम” नारा दिएर ४ करोड बजेट विनियोजन गरिएको छ भने “कोशी जनता आवाज” नारा दिएर आवास बिहीन विपन्न परिवारलाई आवासको व्यवस्था गर्ने भन्दै ४ करोड बजेट विनियोजन गरिएको छ ।
“प्रदेशको रहर, स्वच्छ शहर” भन्ने नाराका साथ दुई वा सोभन्दा बढी स्थानीय तहसँग रणनीतिक साझेदारीमा फोहोर व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माणमा प्राविधिक तथा वित्तिय सहयोग गर्ने उल्लेख गरिएको छ । यसमा बजेट भने खुलाईएको छैन् । तर, मोरङको रंगेली नगरपालिका र ईलामको सूर्योदयन गरपालिकामा फोहोरमैला प्रशोधन निर्माण गर्नको लागि १ करोड बजेट विनियोजन गरिएको छ ।
“म अघि बढ्छु” नारा दिएको कोशी सरकारले सुरक्षा निकाय, स्थानीय तह, अन्य सरकारी तथा गैरसरकारी संघ संस्थाको समन्वयमा र सहकार्यमा नागरिक शिक्षा प्रवद्र्धन, विपद् व्यवस्थापन, लागु औषध नियन्त्रण तथा सामाजिक विकृत विरुद्ध काम गर्ने उल्लेख गरेको छ । जसको लागि आवश्यक कानुनी व्यवस्था गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जनाएको छ । जसका लागि २ करोड बजेट विनियोजन गरिएको छ ।
कोशी प्रदेश सरकारको यो कार्यक्रमलाई कार्यकर्ता पोश्ने कार्यक्रम भने आरोप लाग्दै आएको छ । तर, विगत ४ आर्थिक बर्षदेखि विभिन्न नाममा बजेटमा कार्यक्रम आउने गरेको छ ।
त्यसैगरी सरकारले मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रलाई “कोशी अत्यावश्यक सेवा केन्द्र” मा रुपान्तरण गरिएको छ । स्थानीय तहसँग सहकार्य गरेर गरिने भनिएको कोशी अत्यावश्यक सेवा केन्द्र सञ्चालन तथा नयाँ निर्माणको लागि ५ करोड बजेट विनियोजन गरिएको छ ।
पर्यटन बर्ष २०८२ लाई पर्यटन आधार बर्षको रुपमा सञ्चालन गर्न १० करोड बजेट विनियोजन गरेको कोशी प्रदेश सरकारले “कोशी प्रदेश पर्यटन बर्ष २०८२” नारा दिएर पर्यटन प्रवद्र्धनको लागि प्रदेशमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई प्रदेशभित्रका पर्यटकीय गन्तव्यको भ्रमणको लागि प्रोत्साहन गर्न व्यवस्था मिलाएको उल्लेख गरेको छ । कोशी प्रदेश सरकारले पर्यटन बर्षको सुरुवातको लागि भन्दै चालु आर्थिक बर्षमा पनि १० करोड बजेट विनियोजन गरेको थियो ।
त्यस्तै कोशी प्रदेश सरकारले वृहत विराट विकास क्षेत्रको अवधारणा कार्यान्वयन गर्न ३ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले राजधानी तोक्ने बेलामा एउटा ऐन बनाएर सार्वजनिक गरेको बृहत् विराट क्षेत्र विकास ऐन कार्यान्वयन गर्ने भन्दै बजेट विनियोजन गरिएको हो ।
१८ वटा पालिकालाई समेटेर ल्याइएको ऐनमा कोसी प्रदेशको स्याटेलाइट सहरको रूपमा विकास गर्ने भनेर तत्कालीन मुख्यमन्त्री शेरधन राईको पालामा ल्याइएको ऐन सात बर्षपछि कार्यान्वयनमा लग्ने गरी बजेट ल्याएको हो ।
प्रतिक्रिया दिनुहोस