विराटनगर । कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार बुधबार बसेको बैठकले प्रदेश सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन नियमावली २०८२ लाई स्वीकृत गरेको छ ।
यो नियमावली स्वीकृत भएसँगै यातायात क्षेत्रमा रहेको विकृति विसंगति नियन्त्रण गर्न सजिलो हुने उनले बताए । मन्त्री भण्डारीले यो नियमावलीपछि सिटी रिक्साको लाइसेन्स प्रक्रिया, त्यसको दर्ता प्रक्रिया, लाइसेन्स लिने प्रक्रियाहरूमा सुधार हुने आशा गरिएको जानकारी दिए ।
मन्त्री भण्डारीले यो नियमावलीले सिटी रिक्साचालकले लिखित परीक्षा दिन नपर्ने, ट्राफिक नियम प्रशिक्षण लिनुपर्ने साथै सार्वजनिक सवारी साधनहरूले पञ्जीकृत हुनु नपर्ने व्यवस्था लगायतको विषयलाई समेटेको जानकारी दिए ।
त्यस्तै बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ लाई प्रतिस्थापन गर्ने बनेको विधेयक २०८२, प्रदेश सभामा पेश गर्ने निर्णय भएको छ । यसैगरी सामाजिक संघसंस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेस स्वीकृति दिइएको छ ।
त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव पवनकुमार तिमल्सेनालाई प्रदेश लोकसेवा आयोगमा कामकाजका लागि खटाउने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस