२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

कर उठाउने विवाद समाधानपछि मुस्ताङमा सिएमसीले उठाउन थाल्यो नदीजन्य उत्खनन कर

बिहिवार , आषाढ १२, २०८२

मुस्ताङ । मुस्ताङमा कालीगण्डकी नदीको नदीजन्य प्राकृतिक स्रोत ढुंगा, गिट्टी र बालुवाको उत्खनन, संकलन, बिक्री–वितरण तथा ओसार–पसार गरेबापतको उपयोग कर कसले उठाउने भन्ने विवाद अहिले समाधान भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका संरक्षण व्यवस्थापन समितिले नदीजन्य प्राकृतिक स्रोत उत्खनन गरेबापत उपयोग दस्तुर उठाउन थालेको हो । एक्यापले आन्तरिक प्रयोजनका लागि सम्बन्धित संरक्षण व्यवस्थापन समितिको माग सिफारिसका आधारमा कालीगण्डकी नदीमा प्राकृतिक स्रोतको न्यूनतम मापदण्डमा रहेर एक्यापको प्रधान कार्यालयले नदीजन्य उत्खनन्को सिफारिस दिने गरिएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए ।

यसअघि सर्वोच्च अदालतमा परेको रिटमा २०७८ असार २९ गते कालीगण्डकी उत्खनन रोक्न आदेश दिएको थियो । सर्वोच्चले कालीगण्डकी नदीको बहाव रोक्ने, प्रदूषण गर्ने, ढुङ्गा गिट्टी, बालुवाको उत्खननजस्ता कार्य नगर्न आदेश दिएको थियो । सर्वोच्च अदालतले २०८१ कात्तिक ११ गते उक्त रिट निर्देशनात्मक आदेशसहित खारेज गरेको थियो ।

त्यसैबीचमा कास्की जिल्ला अदालतले कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ र ९ को सिएमसीले सरोकारवालालाई विपक्ष बनाई दर्ता गरेको रिट निवेदन २०७७ मङ्सिर ३० गते खारेज गरेको थियो । अन्तरिम आदेशमा एक्याप क्षेत्र पर्ने नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन गर्दा प्रचलित सङ्घीय कानुनबमोजिम हुने फैसला सुनाएको थियो ।

यसअघि कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ र ९ का संरक्षण व्यवस्थापन समिति (सिएमसी) अध्यक्ष ओमप्रकाश गुरुङले माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत, एक्याप प्रधान कार्यालय र फेवा निर्माण कन्स्ट्रक्सनलाई विपक्षी बनाई एक्याप संरक्षित क्षेत्रको नदीजन्य क्षेत्रमा उत्खनन गराउँदासमेत गैरजिम्मेवार रहेको उल्लेख गर्दै २०७७ मङ्सिर ७ गते कास्की अदालतमा रिट दायर गरिएको थियो । पालिकाले ठेक्का लगाउँदा जनप्रतिनिधि र कर्मचारी अनि एक्यापले दोहन रोक्ने प्रयास नगरेको आरोप लगाइएको थियो । कास्की अदालतले माछापुच्छ्रे सिएमसीले दर्ता गराएको रिट उपर अन्नपूर्ण संरक्षण क्षेत्रको नदीजन्य उत्खनन संघीय कानुनअनुसार हुने आदेश दियो ।

उक्त फैसलालाई कानुनी आधार बनाएर मुस्ताङमा एक्यापले संघीय कानुन र संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ बमोजिम हुनेगरी कालीगण्डकी नदीजन्य प्राकृतिक स्रोत ढुंगा, गिट्टी र बालुवाको उत्खनन, संकलन, बिक्री–वितरणको स्थानीय उपयोग दस्तुर उठाउने अधिकारसम्बन्धी सिएमसीहरुलाई नै प्रत्यायोजन गरिएको हो । एक्याप जोमसोमले संघीय कानुनमा टेकेर मुस्ताङमा स्थानीय तह प्रशासन, जिसस र सरोकारवाला निकायलाई यस सम्बन्धमा सहमतिमा ल्याएको कार्यालय प्रमुख गुप्तको भनाइ छ ।

एक्याप क्षेत्राधिकारको कालीगण्डकी नदी उत्खनन स्थानीय उपयोग दस्तुर उठाउनका लागि सम्बन्धित सिएमसीले एक्याप कार्यालयको रोहवरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाबाट अनुमति लिनुपर्ने कार्यालय प्रमुख गुप्तले बताए । एक्यापले मुस्ताङको संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएमसी)हरुलाई नदी स्रोतको दस्तुर उठाउन अख्तियारी दिएपछि हालसम्म पाँचवटा समितिले स्थानीय उपयोगका लागि नदीजन्य दस्तुर उठाउन थालिसकेको उनको भनाइ छ ।

इलाका संरक्षण क्षेत्र कार्यालयअन्तर्र्गत जोमसोम, मार्फा, कोवाङ, कुञ्जो र लेते समितिले नदीजन्य स्थानीय उपयोग दस्तुर उठाउन थालेको कार्यालय प्रमुख गुप्तले बताए। यसअघि कालीगण्डकी नदी उत्खनन्सम्बन्धी मुद्दा परेपछि मुस्ताङमा नदी उत्खननमा कानुनी जटिलता खडा भएको थियो । यसैका बाबजुद मुस्ताङमा आन्तरिक रुपमा कालीगण्डकी नदी दोहन भइरहेको थियो । स्थानीय गाउँमुखिया र स्थानीय तहले सङ्घीय कानुन मिचेर मनोमानी कालीगण्डकी उत्खननको कर उठाउँदै आइरहेका थिए ।

सर्वोच्चले गरेको रिट खारेजी र माछापुच्छ्रे गाउँपालिका र एक्याप सिएमसी बीचको रिटको किनारा लागेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको कालीगण्डकी नदी स्रोत उत्खनन्को अधिकार एक्यापले नै स्वामित्व ग्रहण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुुख गुप्तले बताए । मुस्ताङमा प्राकृतिक नदीजन्य स्रोतको समुचित उत्खनन नहुँदा मुस्ताङका कालीगण्डकी नदी उकास बर्सेनि वृद्धि भइरहेको छ । नदी उकासले मुस्ताङका १३ गाउँ कालीगण्डकी नदी कटानको उच्च जोखिममा छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट