२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

विदेशमा श्रम, स्वदेशमा पीडा : फर्किएका महिलाको पुनःस्थापनामा दोहोरो चुनौती

बिहिवार , आषाढ १२, २०८२

सुनसरी । ‘१० वर्ष कुवेत बसेँ, भाषाको समस्याले धेरै गाह्रो भयो,’ सुनसरी रामधुनी नगरपालिका–१ की शकुन्तला अधिकारीले विहीबार विराटनगरमा आयोजित एक कार्यक्रमका क्रममा सुनाइन् । वैदेशिक रोजगारीको तितो अनुभव सुनाउँदै उनले भाषा नबुझेका कारण काममा मात्र होइन, दैनिक जीवनमै ठूलो अप्ठ्यारो भोग्नुपरेको बताइन् ।

‘काम गर्ने ठाउँमा आफ्नै नेपालीहरूले तलब रोक्ने, फोन नउठाउने, सहयोग नगर्ने व्यवहार देखाए,’ उनले भनिन्, ‘मालिक त मलाई किनिएको बस्तुजस्तो व्यवहार गर्थे ।’ घरेलु कामदारको रूपमा कुवेत गएकी उनले दुई वर्षसम्म यातना सहेर मात्र कार्यालयमा काम गर्न पाएकी थिइन् । दुई बर्षसम्म दुःख पाएर काम गरेकी उनलाई नेपालीले नै तलब खाइदिएर ठगे ।

No description available.

१० बर्षको विदेशको श्रमपछि नेपाल फर्केकी उनलाई सामाजिक व्यवहारले झनै चोट दियो । ‘महिला विदेश गइन् भने चरित्रमाथि प्रश्न उठाइन्छ,’ उनले दुखेसो पोखिन्, ‘डिप्रेसनसम्म पुगेकी थिएँ ।’ अधिकारीले अहिले नेपालमै सानो व्यवसाय सञ्चालन गरिरहेकी छिन् र सबैलाई भाषा र सिप सिकेर मात्र विदेश जान सुझाव दिन्छिन् ।

कार्यक्रममा सहभागी मोरङको केराबारी–१० की जीवन राईले पनि विदेशको पीडादायी अनुभव सुनाइन् । आप्रवासी श्रमिक सञ्जाल केराबारीकी संयोजक समेत रहेकी राई सन् २०१४ मा साथीको सल्लाहमा साइप्रस गएकी थिइन् । त्यहाँ एक ९२ वर्षीया वृद्धाको ‘केयरगिभर’को रूपमा काम गर्दा भाषा र प्रविधिको अप्ठ्यारोले उनी १८ महिनामै नेपाल फर्कन बाध्य भइन् ।

त्यसपछि फेरि रोजगारीको आशमा दुबई पुगिन्, तर स्वास्थ्य समस्या र निद्राको अभावले पुनः स्वदेश फर्कनुपर्यो । नेपालमै स्वरोजगार बन्न खोज्दा लगानीको अभावले उनी अहिले सामान्य किनारा पसल सञ्चालन गर्दै आएकी छिन् ।

‘समाजले विदेशबाट फर्किएकालाई कमाइको आधारमा हेर्छ,’ उनले भनिन्, ‘कति पैसा ल्यायो, कत्रो घर बनायो भन्ने हिसाबले व्यवहार गर्छन् ।’

हाल उनी नुडल्स कारखाना खोल्ने तयारीमा छिन् र पालिकासँग बजेट माग गरिसकेकी छन् । उनीजस्तै विदेशबाट फर्किएका धेरै महिलाले आर्थिक मात्र होइन, सामाजिक बेवास्ता र मानसिक पीडासमेत झेलिरहेका छन् ।

सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको आयोजनामा भएको वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरण सम्बन्धमा सञ्चारकर्मीहरूसँग छलफल तथा समन्वय वैठकमा सहभागिहरुले विदेशमा दुःख पाएका महिलाहरू नेपाल फर्किएपछि समेत सामाजिक दृष्टिकोणको बेवास्ता सहन बाध्य भएको बताएका थिए । उनीहरुले पुनःस्थापनाका सरकारी योजना भए पनि व्यवहारमा सम्मान नपाउँदासम्म वास्तविक पुनःस्थापना सम्भव नहुने बताएका थिए ।

No description available.

कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले विदेशमा गएकालाई रोक्न नसकिए पनि फर्किएकालाई पुनःस्थापनाका लागि प्रदेश सरकारले नीति बनाइरहेको बताए । ‘सामाजिक पुनःस्थापना मानव विकासको मूल आधार हो,’ उनले भने, ‘फर्किएकालाई उद्यमी बनाउन विषयमा राज्य गम्भीर छ ।’

उनले हाल सञ्चालनमा रहेका ‘ब्रिजकोर्स’ कक्षाहरूलाई नियमन गर्नुपर्ने आवश्यकता औंल्याए । सामाजिक व्यवहारमा परिवर्तन नआएसम्म पुनःस्थापनाको प्रक्रिया प्रभावकारी नहुने मन्त्री राईको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट