काठमाडौं, साउन २२ । जन्मदिनको अवसरमा समाजसेवी संगीता शर्माले काठमाडौंस्थित गुह्येश्वरी गौरिघाटमा रहेको प्रणवानन्द आश्रमका १०० जना बालबालिकालाई एक दिनको लागि खाना र शैक्षिक सामग्री खरिदका लागि रू. ११,५०० सहयोग गरेकी छन्।
सामाजिक सेवामा लामो समयदेखि सक्रिय शर्माले हरेक वर्ष आफ्नो जन्मदिन कुनै बाल अथवा वृद्धाश्रममा गई खाना खुवाएर मनाउने गरेकी बताएकी छन्। समाजसेवामार्फत खुशी बाँड्न सक्ने मौका पाउँदा आफू सधैं सन्तुष्ट हुने उनको भनाइ छ।
शर्मा गत ७ वर्षदेखि ‘मदर किड्स फाउन्डेसन’ मार्फत विभिन्न जिल्लाका ११ जना बालबालिकालाई शैक्षिक सहयोग गर्दै आइरहेकी छन्। उनी स्वयं अध्यक्ष रहेको उक्त संस्थाले हालै जेष्ठ महिनामा चितवनको लेकाली आधारभूत विद्यालयमा छात्रावासमा बस्ने चेपाङ बस्तीका १५ जना बालबालिकालाई स्कुल ड्रेस, स्कुल ब्याग र पानी बोतल सहयोग गरेको थियो। त्यस्तै सिन्धुपाल्चोकको चौतारास्थित बालकल्याण आधारभूत विद्यालयका ३० जना बालबालिकालाई पनि यस्तै सामग्री सहयोग गरिएको जानकारी प्राप्त भएको छ।
“जन्मदिन वा कुनै पनि उत्सव होटल र रेस्टुरेन्टमा फजुल खर्च गरेर मनाउनुको साटो यस्ता सामाजिक कार्य गर्दा आर्थिक अभावकै कारण पढ्न वा खान नपाउने बालबालिकालाई राहत पुग्छ,” शर्मा बताउँछिन्।
समाजसेवामा निरन्तर समर्पित शर्माको प्रयासले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस