काठमाडौं । लामो समयदेखि बस्न नसकेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्ने भएको छ।
महानगर प्रमुख शाह र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंबीच टकरावका कारण गत ८ पुसदेखि कार्यपालिका बैठक बस्न सकेको थिएन । विवाद सल्टाउन बिहीबार प्रमुख शाह, उपप्रमुख सुनिता डंगोल र कार्यपालिका सदस्यबीच भएको छलफलमा कार्यपालिका बैठक बोलाउने सहमति भएको हो । प्रमुख शाहले महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि स्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठक बिहान ११ बजेका लागि बोलाएका छन् ।
उक्त समितिले महानगरमा प्राप्त हुने आन्तरिक आय, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, अनुदान, ऋण र अन्य आयको प्रक्षेपण तथा सोको सन्तुलित वितरणको खाका तथा बजेट सीमा निर्धारण गर्नेछ । त्यसलगत्तै उपप्रमुख संयोजक रहेको राजस्व परामर्श समितिको बैठक बस्नेछ । कार्यपालिका बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई १० असारभित्र सभामा पेस गर्नुपर्छ । तर काठमाडौं महानगरमा विवादका कारण नीति तथा कार्यक्रम र बजेट अहिलेसम्म आएको छैन ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि पुरानो बसपार्कस्थित काठमाडौं टावर भवन निर्माणको नक्सा वातावरणीय परीक्षणबिना १२ तलेबाट १९ तले बनाउन प्रक्रिया नपुर्याई स्वीकृत दिएको आरोप छ ।
प्रतिक्रिया दिनुहोस