काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बालश्रम निवारणका लागि जनस्तरमा व्यापक अभिमुखीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
मन्त्रालयमा आज ‘राष्ट्रिय बालश्रम निवारण प्रतिवेदन २०८२’ सार्वजनिक गर्दै उनले यसका लागि सरोकारवालाको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
मन्त्री भण्डारीले स्थानीय तहमा रहेका रोजगार संयोजकलाई बालश्रम निवारणमा परिचालित गर्न सकिने बताए । आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा गरेको प्रतिबद्धताबमोजिम बालश्रमको क्षेत्रमा भएका उपलब्धि समेटी प्रतिवेदन प्रकाशन गर्न सकेकामा उनले खुसी व्यक्त गरे ।
मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले विभिन्न मन्त्रालय र सरोकारवाला निकायले बालश्रम निवारणका क्षेत्रमा गरेका प्रयासलाई एकीकृत गरी प्रतिवेदन सार्वजनिक गरिएको स्पष्ट पारे ।
कार्यक्रमका अध्यक्ष एवं सहसचिव डण्डुराज घिमिरेले बालश्रमसँग सम्बन्धित विभिन्न क्रियाकलाप समेटिएको सो प्रतिवेदन यस क्षेत्रको उपलब्धि भएको बताए ।
प्रतिवेदनमा पछिल्लो समय बालश्रममा संलग्न बालबालिका, जोखिमपूर्ण काममा संलग्न र कृषि क्षेत्रमा संलग्नको प्रतिशत घटेको उल्लेख छ । हालसम्म मुलुकभरका विभिन्न १० वटा स्थानीय तह बालश्रममुक्त घोषणा भएका छन् ।
प्रतिक्रिया दिनुहोस