काठमाडौं । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनमा ढिलाइ भएको भन्दै प्रतिनिधिसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का नेता राजन दाहालले कडा आलोचना गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को उपस्थितिमा टनेल ब्रेक थ्रु सम्पन्न भएको स्मरण गराउँदै अहिलेसम्म परियोजनामा खासै प्रगति नभएको गुनासो पोखेका हुन्। १३ अर्ब रुपैयाँ चर्को ब्याजमा ऋण लिएर खर्च भइसकेको जनाउँदै दाहालले कामको प्रगति अत्यन्तै न्यून रहेको बताएका छन्।
उनका अनुसार बाँध निर्माणको ठेक्का पाएको पटेल रमण निर्माण कम्पनीले अहिलेसम्म ५९ प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा मात्र २ प्रतिशत मात्र काम सम्पन्न गरेको छ। उनले थप खुलासा गर्दै ३२ करोड मात्र भुक्तानी गर्नुपर्ने कम्पनीलाई १ अर्ब ९७ करोड २२ लाख रुपैयाँ भुक्तानी भइसकेको दाबी गरेका छन्।
सांसद दाहालले पटक–पटक संसद् र मन्त्रालयमा आवाज उठाएर इच्छुक निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐनअनुसार ठेक्का दिने सहमति भएको भएपनि त्यसको पालना नभएको बताएका छन्।
दाहालले मधेसको हितमा राष्ट्रले खर्बौं घाटा सहन नपर्ने भन्दै मधेसका जनप्रतिनिधि र आम जनता मिलेर यस्ता 'तरमाराहरू' लाई तह लगाउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले मधेसमा तत्काल पानी र रासायनिक मलको आपूर्तिको सुनिश्चितता गर्न पनि सरकारसँग माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस