काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सरकारले जहाँ टेक्यो, त्यहीँ भ्रष्टाचार हुने गरेको आरोप लगाएका छन् । उनले बिहीबार ललितपुरमा श्रम उत्पादनमा वाईसीएल अभियानको शुभारम्भ गर्दै वर्तमान सरकार सुशासनको विरुद्धमा खडा भएको आरोप लगाए ।
उनले वर्तमान सरकार सम्पूर्ण रूपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको बताए ।
अध्यक्ष प्रचण्डले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा रहेको बताए ।
सबैले जनतासँग राम्रो सम्बन्ध बढाएर श्रम र उत्पादन कार्यमा आफ्नो उत्पादनलाई जोडेर सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा लाग्नुपर्ने उनले बताए ।
उनले अविरल वर्षा र बाढीपहिरोबाट हुने सम्भावित क्षतिलाई रोक्न सहयोग गर्न आग्रह गरे । उनले भने,“ परिवर्तनलाई उल्टाउने षड्यन्त्र भइरहेको छ, यसलाई असफल बनाउन सकिन्छ, युवाहरूको सहभागिता धेरै महत्वपूर्ण परिवर्तन हुन्छ, यसलाई अभियानका रुपमा अगाडि बढाउनुपर्छ ।”
‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियान शुभारम्भ कार्यक्रममा पार्टीका उपाध्यक्ष पम्फा भुसाल, बागमती प्रदेशका इन्चार्ज सरल सहयात्री, केन्द्रीय सदस्यहरु हरि दाहाल, राजकाजी महर्जन, दिपेश महर्जनलगायतका नेताहरुको सहभागिता रहेको थियो ।
वाइसिएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ले अभियान देशभर साउन र भदौ महिनाभर सञ्चालन हुने जानकारी गराउँदै यो कार्यक्रम आजैबाट पचास वटा जिल्लामा सुरु भएको बताए । उनले मुलुकको उत्पादन, श्रम र विपद् व्यवस्थापनलाई जोड दिएर वाइसिएल नेपालले काम गर्ने जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस