काठमाडौँ - वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले बजेट वितरणमा कुनै पनि प्रकारको पक्षपात नगरिएको दाबी गरेका छन्। उनले १३ वटै जिल्लालाई समानुपातिक र समावेशी ढंगले बजेट बाँडफाँट गरिएको स्पष्ट पारे।
"आवश्यकताका आधारमा पारदर्शी ढंगले बजेट वितरण गरिएको हो, कसैले गुनासो गर्नुपर्ने अवस्था छैन," मन्त्री ठकुरीले बताए।
उनका अनुसार बजेट प्रदेशको नीति, सिद्धान्त र प्राथमिकतालाई ध्यानमा राखेर तयार पारिएको हो। "बजेट सीमित भएकाले सबैको माग जति पूरा गर्न सकिएको नहुन सक्छ, तर कुनै पनि जिल्ला उपेक्षित छैन," उनले जोड दिए।
काठमाडौं–३ बाट निर्वाचित कांग्रेस सांसद ठकुरीले जनताको हितलाई आफूले सधैं प्राथमिकता दिने बताए। "प्रदेश सरकार जनताको समस्या सुनेर समाधान गर्न प्रतिबद्ध छ," उनले भने।
उनले वागमती प्रदेशमा पर्यटनको अपार सम्भावना रहेको उल्लेख गर्दै मन्त्रालय ती सम्भावनाको पहिचान तथा प्रवर्द्धनमा लागिपरेको जानकारी दिए। "नयाँ गन्तव्यको खोजी र समग्र पर्यटन विकासमा सरकार सक्रिय रूपमा लागिरहेको छ," मन्त्री ठकुरीले बताए।
प्रतिक्रिया दिनुहोस