काठमाडौं । भारतबाहेक तेस्रो मुलुक भ्रमणमा जाँदा नेपालीले प्रतिव्यक्ति ३ हजार अमेरिकी डलर बराबर विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् । यसअघि प्रतिव्यक्ति २ हजार ५ सय अमेरिकी डलर बराबर विदेशी मुद्रा सटही सुविधा पाउने व्यवस्था थियो ।
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था परिमार्जन गरेर ३ हजार डलर बनाएको थियो ।‘औपचारिक भ्रमणबापतको सटही सुविधा परिवर्त्य विदेशी मुद्राको खातामा जम्मा गरी (नयाँ खाता खोलीसमेत) उपलब्ध गराउन सकिनेछ,’ परिपत्रमा भनिएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको मौद्रिक नीतिको व्यवस्था राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको छ ।
मौद्रिक नीतिमार्फत निजी आवासीय घर निर्माण र खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा २ करोडबाट बढाई ३ करोड कायम गरिएको, व्यक्तिगत सेयर कर्जाको सीमा २५ करोड बनाइएको, पहिलो घर निर्माण र खरिद गर्दा यस्तो कर्जा प्रवाहका लागि कर्जा मूल्य अनुपात बढीमा ८० र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायमलगायत व्यवस्था कार्यान्वयनमा आएका हुन् ।
नेपाल राष्ट्र बैंकले बुधबार परिपत्र जारी गरेर मौद्रिक नीतिमार्फत गरिएका धेरैजसो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ । नीतिगत परिमार्जनसम्बन्धी केही व्यवस्था भने कार्यान्वयनमा आएका छैनन् । आवास कर्जाको सीमा र कर्जा अनुपात दुवै बढ्ने भएकाले घरजग्गा क्षेत्रलाई चलायमान बनाउन मद्दत पुग्ने जानकार बताउँछन् ।
२०८० कात्तिकको भूकम्पबाट प्रभावित जाजरकोट, रुकुमलगायत क्षेत्रमा सञ्चालनमा रहेका व्यवसायमा प्रवाहित कर्जा तथा उक्त क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारणले लिएको आवासीय घर कर्जालगायत प्रयोजन खुलेका व्यक्तिगत कर्जालाई ऋणीले पनि केही राहत पाउने भएका छन् ।
मौद्रिक नीतिले उनीहरूको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यका आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरेर तोकिएका सर्तको अधीनमा रही कर्जाको पुनर्तालिकीकरण वा पुनःसंरचना गर्न सकिने व्यवस्था गरेको छ ।
‘यस्तो पुनर्तालिकीकरण वा पुनःसंरचना २०८२ असोज मसान्तभित्र गरिसक्नुपर्नेछ,’ परिपत्रमा भनिएको छ, ‘यसरी पुनर्तालिकीकरण वा पुनःसंरचना गर्दाको समयमा कर्जाहरूलाई जुन वर्गमा वर्गीकरण गरिएको छ, सोही वर्गमा वर्गीकरण गर्नुपर्नेछ ।’ अब लगानीकर्ताले सेयर धितोमा २५ करोडसम्म मार्जिन प्रकृतिको कर्जा पाउने भएका छन् ।
प्रतिक्रिया दिनुहोस