काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ ।
साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको शिरेश्वर र कलानेश्वर लगायत शिवालयहरुमा पनि पूजापाठ गर्नेहरुको घुइँचो लाग्ने गर्छ ।
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउने सोमबार पूजा आराधना गर्ने गरिन्छ । बोलबम तीर्थालुहरुले काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने गर्छन् ।
नेपालमा सौरमासअनुसार सोमबार व्रत गर्ने परम्परा छ। तर पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवैअनुसार साउन महिनाका सोमबार विशेष भीड लाग्ने गर्दछ ।
यस वर्ष साउन महिनामा चारवटा सोमबार परेको छ ।
प्रतिक्रिया दिनुहोस