काठमाडौं । कैलालीमा विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जानकी गाउँपालिका-४ को मनुवामा रहेको जनता माध्यमिक विद्यालयमा शिक्षण गर्दै आएका स्थायी घर धनगढी भएका ४५ वर्षीय जगदीश पन्तको शनिबार दिउँसो शंकास्पद मृत्यु भएको थियो ।
पन्तका परिवारले विष खुवाएर हत्या गरेको उल्लेख गरी जाहेरी दिएपछि अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहले बताए ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका- १ का ३६ वर्षीय लोकेन्द्र रावल, जानकी गाउँपालिका-९ अमरावतीका ३४ वर्षीय सुनिल रावल र टीकापुर नगरपालिका-१ चारकठ्ठाका ३२ वर्षी वीरेन्द्र हमाल छन् ।
टीकापुर नगरपालिका-१ को मुनुवा रोडमा रहेको लोकल स्टेशन कटेजमा खाजा खाने बेला पन्त बेहोस भएको र उनीसँगै रहेका साथीहरूले टीकापुर अस्पताल पुर्याएका थिए । तर, अस्पताल नपुग्दै मृत्यु भइसकेको भन्दै चिकित्सकले मृत घोषणा गरे ।
पन्तलाई विष खुवाएको आरोपमा तिनै साथीहरू पक्राउ परेका हुन् ।
प्रतिक्रिया दिनुहोस