जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-८ जमुनिबासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा शिक्षिका मृत फेला परेकी छिन् । विद्यालयको बाल विकास कक्षा कोठामा झुन्डिएको अवस्थामा एक शिक्षिका मृत फेला परेकी हुन् ।
मृतक मिथिला नगरपालिका–८ जमुनिबासकी ३४ वर्षीया विमला कुमारी ध्रोङचिङ मगर भएको खुलेको छ । परिवारजनका अनुसार शिक्षिका मगरले सोही विद्यालयमा बाल विकास कक्षामा पढाउँदै आएकी थिइन् ।
गत साउन १ गते बिहान करिब ४:४५ बजे विद्यालय कक्षा कोठामा मृत फेला परेपछि घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान थालेको छ ।
मृतक मगरले मिटरब्याजी जनकपुरधाम उपमहानगरपालिका–९ का ५५ वर्षीय राजकिशोर यादवसँग ऋण लिएकी प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार मृतक मगरले यादवसँग ३ लाख २० हजार रुपैयाँ ऋण लिएकी थिइन् । यद्यपी, उनले उक्त ऋण चुक्ता गरिसकेकी थिइन् ।
ऋण चुक्ता गरिसकेको भए पनि यादवले खाली चेक लिएर ४५ लाख रुपैयाँ उल्लेख गरेर बार्गेनिङ गरिरहेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनास्थल नजिकै रहेको मगरको ज ११ प ७४९२ नम्बरको स्कुटीको डिक्कीबाट सुसाइड नोट समेत बरामद गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस