काठमाडौं । सभामुख देवराज घिमिरेले आज मंगलबार दिउँसो कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियासहित भिजिट भिसा प्रकरणमा संसदमा निरन्तर विरोध गरिरहेका रास्वपा र राप्रपाका नेताहरूसँग छलफल गरेका छन् । उनले रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँग छलफल गरे ।
छलफलमा सभामुख घिमिरेले भने, ‘भिसा प्रकरणलाई लिएर दुवै दल निरन्तर संसदीय कारवाहीमा सहभागी हुनुभएको छैन । सरकार र तपाईंहरूबीच संवाद हुन नसक्दा त्यसको असर संसदमा परेको छ । सभामुखका रुपमा मैले अप्ठ्यारो महसुस गरिरहेको छु । मेरो ठाउँमा अरु कोही सभामुख भएपनि संसद चलाउनुपर्ने बाध्यतात्मक स्थिति छ ।’ उनले संसद निरन्तर अवरोध हुँदा आगामी आर्थिक वर्षमा दिने भनिएको १ सय २१ वटा विधेयकको अवस्थाबारे पनि सबैले सोच्न आवश्यक रहेको बताए ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री चौरसियाले सरकार विपक्षीलाई नजरअन्दाज गरेर जाने पक्षमा नरहेको स्पष्ट पारे । उनले भने, ‘एउटा सहमतिको बिन्दुमा पुग्न तपाईंहरू पनि लचिलो हुनुहोस्, सरकारले आवश्यक गृहकार्य गर्छ ।’
रास्वपा कार्यवाहक सभापति अर्यालले यति गम्भीर मुद्दा सम्बोधन गर्न सरकारले उल्टै तदारुकता देखाउनुपर्नेमा गैरजिम्मेवारी देखाएको बताए । उनले भने, 'सभामुखले सहमतिका लागि निरन्तर पहल गर्नुभएको छ । धेरै बैठक सहमतिका लागि नै स्थगित पनि गर्नुभयो । तर, हामीले उठाएका मुद्दा धेरै गम्भीर छन् । यति गम्भीर मुद्दा सम्बोधन गर्न सरकारले उल्टै तदारुकता देखाउनुपर्नेमा गैरजिम्मेवारी देखायो ।’
राप्रपा उपाध्यक्ष तामाङले भिजिट भिसा प्रकरणको छानबिन समितिले के काम गरेको छ भनेर समेत संसदलाई जानकारी नदिएको बताए ।
प्रतिक्रिया दिनुहोस