काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले जस्तो दुई ठुला पार्टी मिलेको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष लिङ्देनले कांग्रेस र एमालेको सरकारले देश लुट्नलाई टेन्डर पारेजस्तो व्यवहार गरेको बताए । उनले कुन मन्त्रीले कुन मन्त्रीभन्दा छिटो र कसले धेरै कमाउने भन्दै प्रतिस्पर्धा चलिरहेको बताए ।
लिङ्देनले अहिले भ्रष्टाचार कहाँ छ भन्दा पनि भ्रष्टाचार कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आएको जिकिर गरे । उनले दर्जनौँ मन्त्रीहरू विवादमा आएका भन्दै तिनीहरूको छानबिन गर्नुपर्ने अवस्था आएको बताए ।
भ्रष्टाचारको अन्त्य कर्मचारीलाई कारबाही गरेर मात्रै नहुने उनले बताए ।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै उनले आपत्ति जनाए । भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म संसदमा आफूहरूको विरोध जारी रहने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस