२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

संसदमा प्रधानमन्त्री ओलीले यसरी सम्झिए बीपी र पुष्पलाल

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुको प्रश्नको जवाफ दिएका छन् । प्रश्नोत्तर सिलसिलाको अन्त्यमा प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई सम्झिएका छन् ।

बीपी कोइरालाको हिजो मंगलबार परेको स्मृति दिवस र पुष्पलालको आज परेको स्मृति दिवसको अवसरमा उनीहरुको सम्झना गर्दै प्रधानमन्त्री ओलीले संसदमा भने :

"आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस पनि हो । हिजो नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवस थियो । नेपालको राजनीतिलाई जहानियाँ राणा शासनबाट प्रजातन्त्रतर्फ लैजान नेतृत्व गर्नुभएका बीपी र पुष्पलालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बीपी र पुष्पलाललाई स्मरण गरिरहँदा आज म मतभेद र मनभेदको हैन, एकता र मेलमिलापको कुरा गर्ने अनुमति चाहन्छु ।

मुलुकको समृद्धि र जनताको सुखको लागि जीवनपर्यन्त संघर्ष गर्ने पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले आफ्नो प्रिय मुलुकमा प्राण त्याग्ने अवसर समेत दिएन । उहाँले देख्नु भएको तानशाही विरुद्धको संयुक्त जनआन्दोलनको व्याबहारिक प्रयोग नेपाली कांग्रेस र तत्कालीन संयुक्त वाममोर्चा मार्फत् २०४६ सालमा भयो । बहुदलीय व्यवस्थाको स्थापना भयो । नेकाँले नेतृत्व गरेको राजनीतिक धार र कम्युनिस्ट पार्टीले नेतृत्व गरेको राजनीतिक धारको एकताबाटै मुलुकमा परिवर्तन हुने र प्राप्त उपलब्धि संस्थागत हुने उहाँका सोच पटक पटक हाम्रो राजनीतिको प्रत्येक अप्ठ्यारो मोडमा प्रयोग भएको छ र सफलता समेत प्राप्त भएको छ ।

२०१७ सालको ‘कु’ पछि पुष्पलालले माग गर्नुभए झैं हाम्रो संयुक्त आन्दोलनले बिघटित संसदको पुनःस्थापना ०६३ सालमा भयो, जसले हाम्रो राजनीतिक प्रणालीमा गुणात्मक परिवर्तन गरिदियो । अढाई शाताव्दी लामो शाह वंशीय राजतन्त्रलाई निलम्बन गरी जननिर्वाचित प्रधानमन्त्रीलाई राष्ट्रप्रमुख र सरकार प्रमुखको अधिकार प्रयोग गर्ने परिस्थिति निर्माण ग-यो ।

हण्डर ठक्कर खाएपछि मात्र कार्यगत एकता गर्ने हाम्रो आनिवानी अनुरुप विथोलिएको राजनीतिलाई २०७२ सालमा लयमा फर्काइयो । आज कांग्रेस–एमालेको योजनामा, अन्य दलहरुको समेत सहभागितामा निर्मित मेरो नेतृत्वको यो सरकार त्यही एकता–सहकार्य–प्रतिस्पर्धा– र, सहअस्तित्वमा आधारित छ ।"

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट