काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरूङले पूर्वराष्ट्रपतिलाई नेपालको संविधानले गैरनागरिक नबनाएको र दलीय स्वतन्त्रता प्रदान गरेको स्पष्ट पारेका छन् ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीमाथि एमाले प्रवेशमा गरिएको प्रतिबन्धको टिप्पणी गर्दै उनले यो कदम नेपालको संविधानको मौलिक हकको धारा–१७ विपरीत रहेको बताएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपालको संविधानले पूर्वराष्ट्रपतिलाई गैरनागरिक बनाएको छैन। नेपाली नागरिकहरूको हकमा मौलिक हकसम्बन्धि धारा १७ ले दलीय स्वतन्त्रता प्रदान गरेको छ। कुनै पनि नेपाली नागरिकलाई दल खोल्ने वा कुनै दलमा प्रवेश गर्ने र दलीय गतिविधि गर्न पाउने स्वतन्त्रता प्रदान गरेको छ। गैरनागरिक भएमा वा राष्ट्रिय स्वाधिनताविपरीत कार्य गरेमा मात्र उक्त स्वन्त्रतामा बन्देज लाग्न सक्छ ।’
गत मंगलबार बसेको एमाले केन्द्रीय कमिटीको नवौं बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेको थियो ।
बिना आधार बन्देज लगाउनु भनेको संविधानको मौलिक हकको स्वतन्त्रताको गम्भिर उल्लंघन गर्नु रहेको नेता गुरुङको भनाइ छ । उनले थप लेखेका छन्, ‘यस स्थितिमा नेपाली नागरिकको मौलिक हकको स्वतन्त्रता नेपाली नागरिक रहेको पूर्वराष्ट्रपतिले उपभोग गर्न नमिल्ने आधार पुष्टि हुने देखिँदैन। बिनाआधार बन्देज लगाउनु भनेको संविधानको मौलिक हकको स्वतन्त्रताको गम्भिर उल्लंघन हुन जाने देखिन्छ। निर्वाचन आयोगमा संविधानअनुसार दर्ता भएका दलहरूले संविधानको मौलिक हकविपरीत कुनै पनि विधान वा नियमावली बनाउन र निर्णय गर्न मिल्दैन। अतः मौलिक हकविपरीत भए गरेका निर्णयहरू प्रथम दृष्टिमा नै वदरयोग्य हुने ठहर्छ।’
भण्डारीसँग उपराष्ट्रपति भएका नन्दबहादुर पुनलाई भने माओवादीले यसअघि नै पार्टी जिम्मेवारीमा फर्काइसकेको छ।
प्रतिक्रिया दिनुहोस