काठमाडौँ । मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित, दिगो तथा चुनौती सामना गर्न सक्षम बनाउने उद्देश्यले वायुसेवा सञ्चालक सङ्घ, नेपाल र एरोनटिकल सोसाइटी अफ नेपालबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
दुवै संस्थाले नेपालको उड्डयन क्षेत्रको समग्र विकास, क्षमता अभिवृद्धि, अनुसन्धान, नवप्रवर्तन तथा ज्ञान आदानप्रदानमा सहकार्य गर्ने सहमति जनाएका छन् । वायुसेवा सञ्चालक सङ्घ उड्डयन उद्योगको प्रमुख प्रतिनिधिमूलक संस्था हो ।
यस्तै, एरोनटिकल सोसाइटी अफ नेपाल प्राविधिक ज्ञान, अनुसन्धान र व्यावसायिक विकासका क्षेत्रमा काम गर्दै आएको छ । सहमतिअनुसार उड्डयन क्षेत्रको मानव स्रोत विकास, नेतृत्व प्रवर्द्धन, सञ्चालन, इन्जिनियरिङ, मर्मतसम्भार, सुरक्षा व्यवस्थापन तथा नवीन प्रविधिसम्बन्धी तालिम सञ्चालन गरिनेछ ।
साथै अन्तरराष्ट्रिय मापदण्डअनुसार दक्ष जनशक्ति उत्पादन, विद्यार्थी तथा युवा पेसाकर्मीको क्षमता विकास, अनुसन्धान तथा नवप्रवर्तन प्रवर्द्धनमा सहकार्य हुने समझदारीपत्रसम्बन्धी आज जारी विज्ञप्तिमा उल्लेख छ ।
उड्डयन क्षेत्रमा ‘सेफ्टी कल्चर’ को विकास, डिजिटलाइजेसन, डाटा एनालिटिक्स, कृत्रिम बुद्धिमत्तालगायत उदियमान प्रविधिको प्रयोग विस्तार, राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा ज्ञान र अनुभव साझेदारी गर्ने समझदारीपत्रमा उल्लेख छ ।
त्यस्तै, उड्डयन क्षेत्रसँग सम्बन्धित सेमिनार, सम्मेलन र कार्यशालाको आयोजना गर्ने विषय सम्झौतामा समेटिएको वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष प्रतापजङ्ग पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस