विराटनगर । धनपालथान गाउँपालिकामा रहेका विभिन्न धार्मिक तथा शैक्षिक संस्थाको अध्ययनमूलक पुस्तक ‘धनपालथान गाउँपालिकाका धार्मिक तथा शैक्षिक अध्ययन’ सार्वजनिक गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष जिवछ प्रसाद गच्छदार, उपाध्यक्ष नसिमा बानो, कार्यकारी अधिकृत रीता खतिवडा तथा वडा अध्यक्षहरू पंकज मण्डल, नागेश्वर मण्डल, श्रीराम चौधरी र संतोष कुमार यादवले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए ।
विमोचन समारोहमा बोल्दै अध्यक्ष गच्छदारले यस पुस्तकले गाउँपालिकाभित्रका मन्दिर, मस्जिद, चर्च, मझीथान जस्ता धार्मिक स्थल र शैक्षिक संस्थाको इतिहास, परिचय र महत्व उजागर गर्ने उल्लेखनीय कार्य गरेको भन्दै प्रशंसा गरे । उनले यसअघि प्रकाशित ‘राजा धनपालथान धार्मिक तथा ऐतिहासिक अध्ययन’ पुस्तकले एउटा क्षेत्रमा मात्र केन्द्रित रहे पनि नयाँ पुस्तकले सम्पूर्ण वडाका धार्मिक तथा शैक्षिक संस्थालाई समेटेकाले अझ ऐतिहासिक महत्व राख्ने बताए ।
समारोहमा पुस्तक प्रकाशन विज्ञ टोलीका संयोजक यज्ञप्रसाद शर्मा, प्रा.डा. रामलाल सुतिहार र भाषा संस्कृति प्रतिष्ठानका अध्यक्ष जय प्रकाश महतोले पुस्तकका विषयवस्तु र अनुसन्धान प्रक्रियाबारे प्रकाश पारेका थिए ।
त्यस्तै नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष कुमोद अधिकारी, प्रेस युनियन कोशी अध्यक्ष मिन कुमार नबोदित, महासंघ मोरंग अध्यक्ष शुशीला पाठक, प्रेस चौतारी मोरंग अध्यक्ष चीना थापालगायतले पुस्तक प्रकाशन टोलीलाई धन्यवाद दिँदै अरू पालिकाहरूले पनि यसरी नै आफ्नो क्षेत्रका धार्मिक तथा शैक्षिक संस्थाको अभिलेख तयार गर्न सुझाव दिए ।
श्याम सुन्दर सुतिहारको संयोजकत्वमा, उषा सरदार र पदम सरदारको सदस्यतामा रहेको सम्पादक मण्डलले तयार पारेको २५० पृष्ठको पुस्तकमा पाँच अध्याय समेटिएका छन् । पुस्तकले ग्रामथान, मन्दिर, मस्जिद, चर्च, शिवचर्चा केन्द्रका साथै विद्यालयहरूको इतिहास, स्थापना उद्देश्य, पूजा विधि र विशेष पर्वको विवरण समेटेको छ ।
कार्यक्रमको अध्यक्षता सम्पादक मण्डलका संयोजक श्याम सुन्दर सुतिहारले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस