काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशभित्र लगानीको वातावरण बनाउन राजनीतिक स्थायित्व र विश्वासको वातावरण जिम्मेवार हुने बताएकी छिन् ।
राइजिङ नेपाल समिटलाई सम्बोधन गर्दै उनले चुलिँदो व्यापार घाटा देशको विकासको बाधकको रूपमा रहेको बताएकी छन्।
उनले भनिन्, ‘नीतिगत स्पष्टता, विधिको शासन, पारदर्शी प्रशासन यी सबै आवश्यक छन् त्यसको आधार बनाउने जिम्मेवारी राजनीतिक नेतृत्वको काँधमा छ। साथै हामीले समृद्धि मुठ्ठीभर केही मानिसको लागि मात्रै होइन, आम जनताको लागि हुनुपर्छ।’ स्वदेशी उत्पादन र उत्पादकत्व बढाउन नसक्दा विदेशी मुद्रा तिरेर ठुलो परिमाणमा दैनिक उपभोग्य सामान भित्र्याउनुपर्ने बाध्यता रहेको उनको धारणा छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि महत्त्वपूर्ण चरण पार गरेको भन्दै उनले अब आर्थिक समृद्धिको अभियानलाई सफल पार्नुपर्ने परिवेशमा प्रवेश गरेको बताइन्।
राजनीतिक स्थायित्व सामाजिक न्याय र समानतामा आधारमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने उनको जोड छ । उनले सबै राजनीतिक दलहरूले सामाजिक आर्थिक विकासको लागि नीति निर्माणमा आ-आफ्नो तर्फबाट भूमिका निर्माण गर्नुपर्ने बताइन्।
प्रतिक्रिया दिनुहोस