२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

गेट कलेज र जापानको टोनो शहरबीच ऐतिहासिक सहकार्य सम्झौता सम्पन्न

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट) र जापानको टोनो शहरबीच पर्यटन तथा आतिथ्य सत्कार क्षेत्रमा विद्यार्थी आदानप्रदानका लागि एक ऐतिहासिक त्रिपक्षीय सहकार्य सम्झौता सम्पन्न भएको छ।

ऐतिहासिक सम्झौतापछि नेपाली विद्यार्थीहरूलाई जापानमा इन्टर्नशिपको अवसर प्रदान गर्नुका साथै दुई देशबीच सांस्कृतिक आदानप्रदान र मानव संसाधन विकासमा नयाँ आयाम थप्नेछ।

यो सम्झौताको मुख्य उद्देश्य नै नेपाली विद्यार्थीहरूलाई जापानी आतिथ्य सत्कार उद्योगको प्रत्यक्ष अनुभव दिलाउनु हो। यस पहलले आतिथ्य सत्कारका लागि आवश्यक मानव संसाधनको विकास मा सहयोग पुर्‍याउनेछ।

साथै, यसबाट नेपाल र जापानबीच अन्तर्राष्ट्रिय आदानप्रदान र बहुसांस्कृतिक सहअस्तित्वलाई प्रवर्द्धन हुनेछ। यसले भविष्यमा जापानमा विदेशी मानव संसाधन स्वीकार गर्ने आधार तयार पार्न पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

आज आयोजित एक विशेष समारोहमा गेट कलेज, टोनो सिटी र टोनो कं, लिमिटेडबीच यो महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भयो। हस्ताक्षर समारोहमा जुममार्फत अनलाइन उपस्थितिमा तीनवटै पक्षका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

हस्ताक्षर कार्यक्रममा बोल्दै टोनो सिटीका मेयर काजुहिको टाडाले यो ऐतिहासिक सहकार्य सम्झौताप्रति खुसी व्यक्त गर्दै यस पहललाई आफ्नो शहरको अन्तर्राष्ट्रियकरणतर्फको महत्वपूर्ण कदम भएको बताए।

सम्झौता हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै मेयर टाडाले यस सहकार्यलाई अत्यन्त अर्थपूर्ण रहेको बताए। उनका अनुसार यसले नेपालमा पर्यटन र आतिथ्य सत्कार क्षेत्रमा समर्पित गेटका विद्यार्थीहरूलाई जापानमा व्यावहारिक अनुभव लिने अवसर प्रदान गर्छ भने टोनो शहरमा पनि नयाँ दृष्टिकोण र सांस्कृतिक प्रोत्साहन ल्याउँछ।

मेयर टाडाले टोनो शहरले घट्दो जन्मदर, बढ्दो वृद्ध जनसंख्या र श्रम अभावजस्ता चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै समुदायमा विविध प्रतिभालाई प्रोत्साहन दिन र बहुसांस्कृतिक सहअस्तित्वलाई प्रवर्द्धन गर्न काम गरिरहेको जानकारी दिए। ‘यो सम्झौता भविष्यमा विदेशी प्रतिभालाई स्वीकार गर्ने र हाम्रो क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्ने दिशामा एउटा ठूलो कदम हो, जसलाई टानो शहरले पूर्ण रूपमा समर्थन गर्छ’ उनले भने।

मेयर टाडाले यस सहकार्यले टोनो र नेपालबीचको सम्बन्ध अझ गहिरो हुने र व्यक्तिगत तथा सांस्कृतिक आदानप्रदान विस्तार हुने विश्वास व्यक्त गरे। उनले यस सम्झौतालाई मूर्त रूप दिन अथक प्रयास गर्ने गेट कलेज र एरिया टोनोसँग सम्बन्धित सबैलाई गहिरो कृतज्ञता व्यक्त गर्दै यो पहल फलदायी हुने आशा व्यक्त गरे।

गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाइँले इएचएल स्विट्जरल्याण्ड, काठमाडौं विश्वविद्यालय र टेफ अष्ट्रेलियासँगको सहकार्यमार्फत गेट कलेजले १९ वर्षदेखि विद्यार्थीहरूको आशा र महत्वाकांक्षालाई मूर्त रूप दिँदै आएको स्मरण गर्दै टोनो शहरसँग भएको ऐतिहासिक सम्झौता नेपाल र जापानबीचको साझा सपनाको सुरुवात भएको बताए।

लकाइँले यस साझेदारीलाई परिवार निर्माण गर्ने अवसरका रूपमा व्याख्या गर्दै ठूला सपना बोकेका विद्यार्थीहरूले जापानमा प्राप्त गर्ने परिवर्तनकारी अनुभवले साँच्चिकै अर्थ राख्ने विश्वास व्यक्त गरे।

टोनो कं., लिमिटेडका सीईओ सुकी सुजुकीले नेपालको गेट कलेज र टोनो सिटीसँगको ऐतिहासिक इन्टर्नशिप सम्झौतालाई टानोको पर्यटन विकासका लागि महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे।

सुजुकीले ग्रामीण क्षेत्रमा आन्तरिक पर्यटनको पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय दृष्टिकोण भएका मानव संसाधनको विकास र बहुसांस्कृतिक समझदारीलाई बढावा दिनु आवश्यक रहेकोमा जोड दिए।

उनले भने, ‘अन्तर्राष्ट्रिय दृष्टिकोण भएका इन्टर्नहरूले स्थानीय क्षेत्रमा काम गर्दा र सिक्दा सेवाको गुणस्तरमा सुधार मात्रै ल्याउँदैनन्, बरु विदेशी पर्यटकहरूका लागि आकर्षक स्वागत प्रणाली निर्माणमा पनि प्रत्यक्ष योगदान पुग्छ।’

सुजुकीले यो पहलले भविष्यमा दिगो पर्यटन क्षेत्र निर्माण गर्न र अन्ततः नेपाल र टानोबीचको पुल बन्न महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे। यो सम्झौतापछि गेटका विद्यार्थीहरूले जापानको टोनो शहरमा पर्यटन, आवास र आतिथ्य सत्कार क्षेत्रमा इन्टर्नशिपका अवसरहरू प्राप्त गर्ने छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट