काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, जालझेल, ठगी अहिले सरकारको परिभाषाजस्तो भएको बताएका छन् । सहिद शिक्षक स्मृतिको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संघीय निजामती विधेयकमा ठुलो चलखेल भएको बताए । उनले कुलिङ पिरियड दुई वर्ष राख्ने निर्णय सर्वसम्मत भएको तर अहिले सरकारको नेतृत्व गर्ने पार्टीले राष्ट्रियसभामा राख्नुहुन्न भन्ने पक्षमा संशोधन प्रस्ताव राखेको बताए ।
यसमा एमालेको नियत रहेको र षड्यन्त्र पनि एमालेले नै गरेको भन्दै यसको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने उनले बताए।
उनले संसदीय छानबिन समितिले छानबिन गरिरहेको भन्दै पहिला पनि शंकाको सुई प्रधानमन्त्रीतिर सोझिएको र ठोस रूपमा भन्ने आधार नभएको बताए ।
अहिले एमाले सांसदहरूको गतिविधिबाट यो एमालेकै नियतले भएको भन्ने प्रष्ट भएको भन्दै प्रधानमन्त्री स्वयम् छानबिनको दायरामा आउनुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस