२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

तान्सेन खानेपानी व्यवस्थापनमा स्थानीय सहभागिता, प्रतिबद्धता र पारदर्शिता अत्यन्तै अनुकरणीय छ : मन्त्री यादव

शनिवार , श्रावण १०, २०८२

तान्सेन (पाल्पा) । खानेपानीमन्त्री प्रदीप यादवले भौगोलिक कठिनाइ र स्रोतहरूको सीमितताका बाबजुद पनि पाल्पाको तान्सेनमा खानेपानी व्यवस्थापनमा देखिएको स्थानीयवासीको सहभागिता, प्रतिबद्धता र पारदर्शिता अत्यन्तै अनुकरणीय रहेको बताएका छन् ।

आज पाल्पाको तानसेन स्थित तानसेन खानेपानी उपभोक्ता समितिको १० औँ साधारणसभालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मन्त्री यादवले “पानी जीवनको आधार, स्वच्छ पानी सबैको अधिकार” भन्ने अत्यन्तै सान्दर्भिक नारालाई आत्मसात गर्दै खानेपानीको क्षेत्रमा यहाँका आम नागरिकको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए ।

उनले भने, “तान्सेनमा खानेपानी व्यवस्थापनमा देखिएको स्थानीय सहभागिता अत्यन्तै अनुकरणीय छ । भौगोलिक कठिनाइ र स्रोतहरूको सीमितताका बाबजुदपनि सरकार खानेपानीका समस्या समाधानका लागि पूर्ण प्रतिबद्ध छ ।”

तानसेन–कालीगण्डकी बृहत पम्पिङ् खानेपानी आयोजना सफलतापूर्वक कार्यान्वयन भएकाले जनताको घरदैलोमा शुद्ध, सुरक्षित र पर्याप्त खानेपानी पुर्‍याउँदै सरकारको “सबै नागरिकका लागि स्वच्छ पानी” भन्ने सङ्कल्पलाई व्यवहारमा उतारेको प्रति मन्त्री यादवले खुशी व्यक्त गरे ।

खानेपानी मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२–८३ मा यस क्षेत्रका योजना कार्यान्वयनका लागि बजेट विनियोजन गरिएको र उक्त वजेटले यहाँका नागरिकलाई गुणस्तरीय सेवा दिने सरकारको लक्ष्यलाई अझ सार्थक बनाउने विश्वास व्यक्त गरे ।

उनले स्थानीय तहको सक्रियतासँग सहकार्य गर्दै खानेपानी मन्त्रालयले हालसम्म ३१० भन्दाबढी स्थानीय तहहरूमा वास योजना तयार गरिसकेकाले खानेपानी, सरसफाइ र स्वच्छताको सेवा प्रवाहमा महत्वपूर्ण टेवा पुर्‍याएको जिकिर गरे ।

त्यसैगरी मन्त्री यादवले स्थानीय उपभोक्ता समितिहरूलाई पनि खानेपानीको दिगो व्यवस्थापनका लागि सहयोग र समन्वय गर्न आग्रह गरे । उनले पानीका मुहान संरक्षण, पाइपलाइन विस्तार, र स्रोतहरूको समुचित उपयोगमा स्थानीय सहभागिताको आवश्यकता औँल्याए ।

मन्त्री यादवले तानसेन नेपालको इतिहास र सभ्यताको एक जीवन्त स्मारक भएको र श्रीनगर डाँडाको काखमा अवस्थित यो सहर, सांस्कृतिक गौरव, शैक्षिक प्रगति एवं प्राकृतिक सौन्दर्यको सङ्गम नगर भएको बताए ।

“स्वच्छ वातावरण, मौलिक पहिचान र सामाजिक सद्भावका कारण तानसेन आज पनि प्रेरणादायी शहरको रूपमा स्थापित छ । तानसेन खानेपानी उपभोक्ता समितिले यस क्षेत्रका बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउन पुर्‍याएको योगदान साँच्चिकै सराहनीय छ,” मन्त्री यादवले भने ।

यहाँको उपभोक्ता समितिहरुले देखाएको सक्रियता र जनसेवाको भावना देशका अन्यक्षेत्रका लागि पनि अनुकरणीय रहेको बताउँदै उपभोक्ताको बोझ घटाउन नेपाल सरकार खानेपानी मन्त्रालयले सहलगानी योजनामा जनसहभागिता ३० प्रतिसतबाट घटाएर १५ प्रतिसतमा झारेकाले अब यसलाई पूर्ण रूपमा हटाएर शुन्य प्रतिसत बनाउनेतर्फ सक्रिय रूपमा लागि परेको मन्त्री यादवले दाबी गरे ।

सबैको साझा प्रयास र समन्वयबाट मात्र “पानी जीवनको आधार, स्वच्छ पानी सबैको अधिकार” भन्ने नारालाई व्यवहारमा रूपान्तरण गर्न कटिबद्ध रहन समेत मन्त्री यादवले सबैमा आग्रह गरे ।

मन्त्री यादवले सरकारले तराई–मधेसदेखि विकट पहाडी तथा हिमाली क्षेत्रसम्मका खानेपानी समस्या समाधानका लागि उल्लेखनीय प्रयासहरू गरिरहेको जानकारी दिए ।

उनले भने, “तराई–मधेस सहित देशका विकट भू–भागमा समेत खानेपानीको सहज पहुँचका लागि सरकारले महत्वपूर्ण योजनाहरू अघि सारेको छ । पानीको समस्या समाधानलाई सरकारले पहिलो प्राथमिकता मानेर योजना अघि बढाइरहेको छ ।”

आजको उक्त कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, तानसेन खानेपानी उपभोक्ता समितिका पदाधिकारी, कर्मचारी, स्थानीयवासी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट