२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

चितवन लोडसेडिङबारे के भन्छन् ऊर्जामन्त्री खड्का र कार्यकारी निर्देशक शाक्य ?

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । आइतबारदेखि 'चितवनमा दैनिक ६ घण्टा लोडसेडिङ' भन्ने समाचार प्राय जसो आमसञ्चार माध्यममा छ्याप्छ्याप्ती बन्यो । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले शनिबार दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको थियो । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ गर्नु परेको सूचनामा उल्लेख छ ।

'लोडसेडिङ' नै भनेर समाचार बाहिरिएपछि ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आ–आफ्नै ढंगले खण्डन गरेका छन् ।

ऊर्जामन्त्री खड्काले चितवनमा लोडसेडिङको तालिका ल्याइएको भन्ने चर्चालाई खण्डन गर्दै प्रकाशित सूचनामा लेखाइ नै गलत भएको बताएका छन्। सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले बेलुकाको समयमा पानी तान्ने पम्प नचलाउनका लागि मात्रै आग्रह गरिएको जिकिर गरे ।

‘यो लोडसेडिङ होइन । उहाँहरुको लेखाइ गलत भएको हो । पानी तान्ने पम्प हुन्छ, त्यसलाई लाइन मिलाउनुपर्ने भएको भएर दुई दिनको लागि बेलुका काम गर्ने समयमा चाहिँ पानी तान्ने पम्प नचलाउनुस् है भनेको । लोडसेडिङको तालिका होइन । त्यो गलत हो । लोडसेडिङ होइन, हुँदैन,’– उनले भने ।

त्यस्तै, 'चितवनमा लोडसेडिङ' भन्ने समाचारमा कुनै सत्यता नरहेको निर्देशक शाक्यले बताएका छन् । आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै शाक्यले मर्मत कार्यका लागि विद्युत आपूर्ति रोकिएको भन्दै लोडसेडिङ भनेर गलत तरिकाले व्याख्या गरिएको बताए ।

चितवनमा रहेको सवस्टेशन अपग्रेड गर्नका लागि पुरानो कन्डक्टर फेर्ने काम भएकाले आइतबार र सोमबार विद्युत आपूर्ति बन्द गर्न लागिएको उनले जानकारी दिए । शाक्यले पुरानो कन्डक्टरका कारण लोड धान्न नसक्ने अवस्था आएपछि नयाँ कन्डक्टर परिवर्तन गर्न खोजिएको बताए । उनले विद्युत् क्षमतावृद्धि गर्दा पुरानो नेटवर्क धान्न नसकेका कारण बत्ति जाने समस्या देखिएको उल्लेख गरे।

वितरण केन्द्रले जारी गरेको सूचना अनुसार, भरतपुर १३२/३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने (क्षमताले नधान्ने) अवस्था छ । तर, अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको जनाइएको छ ।

अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामार्फत जनाएको छ । उक्त समस्या समाधानका लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सब स्टेशनबाट विद्युत् आपूर्ति गर्नेगरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट