मकवानपुर। बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका अर्का मन्त्रीले पनि राजीनामा दिएका छन् । खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामबहादुर खड्काले कांग्रेस संसदीय दलको कार्यालयमा मुख्यमन्त्री बहादुर सिंह लामालाई राजीनामा बुझाएका हुन् ।
खड्काले राजीनामा दिएसँगै लामाविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदको संख्या २२ पुगेको छ । यसअघि ९ साउनमा प्रदेशका चार जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
यसअघि युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका थिए ।
बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामा आफ्नै २१ जना सांसदको अविश्वास प्रस्तावको सामना गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस