काठमाडौं । विश्वप्रसिद्ध घडी तथा लाइफस्टाइल ब्रान्ड टाइटन को नेपाल प्रवेशको २२औँ वार्षिकोत्सव विशेष समारोहका साथ सम्पन्न भएको छ ।
नेपालमा टाइटन ब्रान्डको आधिकारिक वितरक Nepal Trade Network Pvt. Ltd. (NTN) द्वारा आयोजित उक्त कार्यक्रममा टाइटन कम्पनीका अन्तर्राष्ट्रिय व्यापार विभाग (आईबीडी) अन्तर्गत दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) तथा अफ्रिका क्षेत्र प्रमुख जितेन्द्र सिन्हा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रमको शुभारम्भ सिन्हाले दीप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा नेपालभरका करिब ४० जना डिलर, व्यवसायिक साझेदार तथा टाइटनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । समारोहले टाइटनको नेपालमा दुई दशकभन्दा लामो सफल यात्रालाई स्मरण गर्दै आगामी योजनाहरूको समेत जानकारी प्रदान गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सिन्हाले नेपालमा टाइटन ब्रान्डप्रति ग्राहकहरूको विश्वास र आकर्षण निरन्तर बढ्दै गएको बताए । उनले भारतपछि नेपाल टाइटनका लागि एक महत्वपूर्ण अन्तर्राष्ट्रिय बजारका रूपमा स्थापित भएको उल्लेख गर्दै ग्राहक, डिलर तथा NTN परिवारको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे । उनले नेपालमा टाइटनको बजार विस्तार र ब्रान्ड मूल्य दुवै सशक्त रूपमा वृद्धि भइरहेको बताए ।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टलाई नेपालका लागि टाइटन ब्रान्डको आधिकारिक ब्रान्ड एम्बासडर घोषणा गरिएको थियो ।
सिन्हाले आलिया भट्टको व्यक्तित्व, आधुनिक सोच, विश्वव्यापी लोकप्रियता तथा युवा पुस्तामाझको प्रभावले टाइटनको ब्रान्ड छविलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे । कम्पनीले नेपाली ग्राहकहरूसँग अझ नजिकको सम्बन्ध स्थापित गर्न र नयाँ पुस्तासम्म ब्रान्डको पहुँच विस्तार गर्न यो निर्णय महत्वपूर्ण हुने जनाएको छ ।
२२औँ वार्षिकोत्सवको अवसर पारेर सिन्हाले असार महिनाभरि टाइटनका सम्पूर्ण उत्पादनहरूमा २० प्रतिशत विशेष छुट उपलब्ध गराइने घोषणा गरे । कम्पनीका अनुसार यो योजना ग्राहकहरूप्रति कृतज्ञता व्यक्त गर्ने तथा ब्रान्डप्रतिको विश्वासलाई थप मजबुत बनाउने उद्देश्यले ल्याइएको हो ।
समारोहमा उत्कृष्ट व्यवसायिक प्रदर्शन गर्ने शीर्ष १० डिलरहरूलाई सम्मानित गरिएको थियो । त्यस्तै, हालै सञ्चालनमा आएका बुटवल र नारायणघाटस्थित एक्सक्लुसिभ ब्राण्ड आउटलेटका इन्चार्जहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो ।
कम्पनीले यी नयाँ आउटलेटहरू मार्फत देशका प्रमुख बजारहरूमा टाइटनको पहुँच अझ विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।
कार्यक्रमका सहभागीहरूलाई हालै OTT प्लेटफर्ममा सार्वजनिक भएको “Made In India: A Titan Story” शृङ्खलाबारे पनि जानकारी गराइएको थियो । उक्त शृङ्खलाले टाइटन ब्रान्डको स्थापना, नवप्रवर्तन, चुनौती र सफलताको प्रेरणादायी यात्रा प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।
यसै अवसरमा Nepal Trade Network Pvt. Ltd. (NTN) का प्रबन्ध निर्देशक सुनील कुमार अग्रवालले कम्पनीको भावी योजनाबारे जानकारी दिँदै सन् २०२६ भित्र देशका विभिन्न स्थानमा थप तीनवटा नयाँ शोरुम सञ्चालन गर्ने लक्ष्य रहेको बताए । उनले टाइटनलाई नेपालका थप शहर तथा बजारसम्म पुर्याउने, ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउने तथा बिक्रीपछिको सेवालाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरे ।
समारोहमा हालै सञ्चालनमा आएका बुटवल र नारायणघाटस्थित एक्सक्लुसिभ ब्राण्ड आउटलेटका इन्चार्जहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो । कम्पनीले यी नयाँ आउटलेटहरूसहित नेपालभर आफ्नो उपस्थितिलाई अझ सशक्त बनाएको जनाएको छ ।
हाल दुर्बारमार्ग, जावलाखेल, धरान, विराटनगर, सिमरा, वीरगञ्ज, नारायणघाट, बुटवल, घोराही (दाङ) र पोखरा गरी टाइटनका १० वटा आउटलेटहरू सञ्चालनमा रहेका छन् । कम्पनीका अनुसार यी आउटलेटमार्फत देशभरका ग्राहकलाई अन्तर्राष्ट्रियस्तरका घडी तथा लाइफस्टाइल उत्पादनहरू सहज रूपमा उपलब्ध गराइँदै आएको छ ।
नेपालमा सन् २००४ देखि आफ्नो यात्रा सुरु गरेको टाइटनले आज घडी, स्मार्ट वाच, फेसन एक्सेसरिज तथा लाइफस्टाइल उत्पादनहरूको क्षेत्रमा आफूलाई एक भरोसायोग्य ब्रान्डका रूपमा स्थापित गरिसकेको छ ।
२२ वर्षको सफल यात्रालाई उत्सवका रूपमा मनाउँदै कम्पनीले आगामी वर्षहरूमा पनि नेपाली ग्राहकलाई विश्वस्तरीय गुणस्तर, नवीनता र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।
प्रतिक्रिया दिनुहोस