काठमाडौं । समाजवादी मोर्चाले पछिल्लो समय जनता र पार्टीका नेता कार्यकर्ताको अपेक्षा पूरा गर्न नसकेको निष्कर्ष निकालेको छ । मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले सो निष्कर्ष निकालेको हो ।
त्यस्तै, मोर्चाले अहिलेसम्मको गतिविधि पर्याप्त नभएको निष्कर्ष निकालेको छ । नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका अनुसार समाजवादी मोर्चाको बैठकमा मोर्चाबारे गम्भीर समीक्षा भएको छ । मूलभूत रूपमा मोर्चा सफल रहे पनि अपेक्षित ढङ्गले गति लिन नसकेको बैठकले निष्कर्ष निकालेको उनले बताए ।
मोर्चाको बैठकले देशमा व्यापक निराशा र आक्रोश बढेकाले त्यसलाई सम्बोधन गर्ने गरी कार्यक्रम बनाउने निर्णय गरेको छ । मोर्चालाई अझ प्रभावकारी बनाएर डेब्लभ नगर्ने हो भने अर्थ नहुने उनले बताए ।
समाजवादी मोर्चालाई अहिलेको स्थितिमा देशलाई समाजवादी व्यवस्थामा लाने तहसम्म आफूलाई सदृढ गर्नुपर्नेतिर सोचिएको विश्वकर्माले बताए । त्यसका लागि राजनीतिक र बौद्धिक क्षेत्रका व्यक्तिहरूसँग छलफल हुने उनले बताए ।
त्यस्तै, बैठकले समाजवादी मोर्चालाई समाजवादी दिशामा लैजानुपर्ने, फरक ढङ्गले विस्तार गर्दा तार्किक र व्यवहारिक रूपमा लैजानुपर्ने निष्कर्ष निकालेको छ ।
प्रतिक्रिया दिनुहोस