काठमाडौं । बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरुको शपथग्रहण आज हुँदैछ । मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार नियुक्त गरेका मन्त्रीहरु गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई विहीबार (आज) दिउँसो शपथ ग्रहण गराउने कार्यक्रम छ ।
पाँच मन्त्रालय मन्त्रीविहीन बनेपछि मुख्यमन्त्री लामाले बुधबार तीन जनालाई मन्त्री पदमा नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरु गोविन्द लम्साललाई आन्तरिक तथा कानुन मन्त्रालय, गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालय र माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह आज दिउँसो १ बजेका लागि तय भएको छ । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रमका कारण नवनियुक्त मन्त्रीहरुको शपथग्रहण विहीबार मात्र हुन लागेको हो ।
बहादुरसिंह लामा र इन्द्र बानियाँबीच शक्ति संघर्ष चलिरहेका बेला मुख्यमन्त्री लामाले बानियाँ पक्षका चार जना मन्त्रीहरुलाई पदमुक्त गरेका थिए भने मंगलबार एक मन्त्रीले राजीनामा दिएका थिए ।
संस्कृति तथा पर्यटन मन्त्रालय र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री लामाले नै सम्हालेका छन् ।
१४ वटा मन्त्रालय रहेको बागमती प्रदेशमा ६ वटा मन्त्रालय नेकपा एमालेको भागमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस