काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार सामाजिक सञ्जालमा आफ्नोसहित तीन मन्त्रीको तस्बिर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भनेर प्रशंसा गरेका थिए। तर त्यसको २४ घण्टा नबित्दै उक्त टोलीकै एक मन्त्रीले समयमा नै काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिन भनेका छन् ।
भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजनाको अनुगमनका क्रममा काममा ढिलासुस्ती गर्ने ठेकेदारमाथि आक्रोश पोख्दै कर्मचारीहरूलाइ काम समयमा नै नगर्ने ठेकेदारहरुलाई धरर्तीको जताबाट भएपनि खोजेर ल्याउन निर्देशन दिए ।
स्थलगत निरीक्षणका क्रममा मन्त्री लम्सालले भने,–‘बिजुलीको पोल सार्न नसक्ने ठेकेदार यो धर्तीमा कहाँ छ, खोजेर ल्याउनुहोस्,त्यसले काम गर्दैन भने खुट्टा भाँचिदिनुहोस्, केही हुदैन ।’
सडक विस्तारको काम वर्षौंदेखि लम्बिँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको, यात्रुहरूले दैनिक धुलो, जाम र जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको भन्दै मन्त्री लम्साल आक्रोशित बनेका थिए । उनका अनुसार सडक किनारमा रहेका विद्युत् पोल समयमै स्थानान्तरण हुन नसक्दा निर्माण कार्य प्रभावित भएको छ।
सडक बिस्तारका क्रममा पूर्वी खण्डमा रहेका विद्युत् पोल स्थानान्तरणको जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणले सोहन कन्स्ट्रक्सनलाई दिएको थियो । आयोजनाका एक कर्मचारीका अनुसार आदमघाटदेखि मलेखुसम्म ७४ वटा विद्युत् पोल छन्। केही स्थानमा नयाँ पोल गाडिए पनि पुराना पोलमा अझै तार यथावत रहेको उनले बताए। ‘धेरैजसो पोल अझै सारिएका छैनन्।
नागढुंगादेखि मुग्लिनसम्मको सडक खण्डमा विद्युत् पोल स्थानान्तरणका लागि मात्रै १२ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये पूर्वी खण्डमा मात्रै ६ करोड रुपैयाँभन्दा बढी खर्च हुने प्रक्षेपण छ। यसअन्तर्गत पूर्वी खण्ड आयोजनाले नेपाल विद्युत् प्राधिकरणलाई ५ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस