कैलाली / कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाबारे छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज विष्टको संयोजकत्वमा समिति गठन गरेको मन्त्रालयका उपसचिव भरतप्रसाद पाठकले जानकारी दिए ।
मन्त्रीस्तरीय निर्णयबाट गठित समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको मन्त्रालयका सचिव पाठकले जानकारी दिए । मन्त्री ज्यु सहित बसेको बैठकले सात दिन भित्र प्रतिवेदन पेश गर्ने गरेर समिति गठन गरेका छौ पाठकले भने–‘समितिले सात दिन भित्र प्रतिवेदन बुझाउछ,त्यसपछि अन्य प्रक्रिया अगाढी बढ्छ ।’
समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन् ।
गत जेठ २९ गते वन अतिक्रमण हटाउने अभियानका क्रममा वन कर्मचारीहरूले एउटा टेम्पोलाई भीरबाट खसालेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिरीएको थियो ।
मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिएको भन्दै निष्पक्ष छानबिनपछि जिम्मेवार ठहरिने व्यक्तिमाथि आवश्यक कानुनी तथा प्रशासनिक कारबाही गरिने जनाएको छ । वन कार्यालयका प्रमुख सहित १९ जना कर्मचारीहरुले भने पुरानो ट्याम्पो सडक छेउमा राख्नते क्रममा जमिन भिराले भएको भन्दै आफुहरुको बचाउमा प्रेस विज्ञप्ति निकालेका थिए ।
घटनासम्बन्धी थप अनुसन्धानका लागि प्रहरीले १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस