काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई ले पार्टीभित्र पुनर्गठनको प्रक्रिया अगाडि बढ्ने र संगठन अझ बलियो तथा एकताबद्ध बन्ने विश्वास व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत कविता शैलीमा आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले एमालेभित्र विभाजन, फुट वा टुटको सम्भावना नभएको संकेत गरेका छन्। उनले पार्टीमा लोभ र पापको अन्त्य हुँदै जाने, सबै पक्षबीच समझदारी र सहकार्य बढ्ने तथा संगठन थप मजबुत बन्ने सन्देश दिएका छन्।
भट्टराईले साझा उद्देश्य र एकताको भावनालाई जोड दिँदै पार्टीभित्र रहेका मतभेद संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार एमालेका नेता–कार्यकर्ताबीच आपसी सम्मानको वातावरण अझ सुदृढ हुनेछ र संगठनात्मक गतिशीलता पनि बढ्नेछ।
उनले लेखेको कवितामा ‘ढुक्क रहनुहोस’, ‘फुट्ने छैन’, ‘टुट्ने छैन’, ‘सबै मिल्ने छन् ’ र ‘थप एकताबद्ध हुनेछन् ’ भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।
भट्टराईको भनाइलाई एमालेभित्र सकारात्मक पुनर्गठन, आपसी विश्वासको पुनस्र्थापना र संगठन सुदृढीकरणको संकेतका रूपमा हेरिएको छ।
उनले कविताको अन्त्यमा “मति सुध्रने छ, गति बढ्ने छ” भन्दै एमाले आगामी दिनमा अझ प्रभावकारी, अनुशासित र जनमुखी ढंगले अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस