रौतहट भारतले रौतहटको गौर–बैरगनिया सीमा क्षेत्रमा रहेको बाँधलाई मर्मतको नाममा थप अग्लो र बलियो बनाएको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। सीमावर्ती क्षेत्रमा भइरहेको उक्त गतिविधिले यस वर्ष पनि गौरसहित दर्जनौँ नेपाली बस्ती डुबानमा पर्ने जोखिम बढाएको स्थानीयको भनाइ छ ।
स्थानीयका अनुसार भारतले बिहार राज्यका सीमावर्ती क्षेत्रलाई बाढीबाट जोगाउन वर्षौँअघि निर्माण गरेको करिब पाँच किलोमिटर लामो बाँधमा हाल माटो थप्ने र चौडाइ बढाउने काम भइरहेको छ। सीमा क्षेत्रको दशगजाभित्र वा आसपास दुवै देशको सहमतिबिना भौतिक संरचना निर्माण तथा विस्तार गर्न नपाइने व्यवस्था भए पनि भारतीय पक्षले एकतर्फी रूपमा काम अघि बढाएको आरोप छ।
गौरका स्थानीय अमित केशरीका अनुसार बैरगनिया क्षेत्रमा रहेको बाँधका कारण वर्षायाममा बाढीको प्राकृतिक बहाव अवरुद्ध हुँदै आएको छ। “भारतले आफ्ना सहर जोगाउन बनाएको बाँधले नेपालतर्फ पानी थुनिन्छ। त्यसको प्रत्यक्ष असर गौर र आसपासका गाउँले भोगिरहेका छन्,” उनले भने।
स्थानीय बासिन्दाका अनुसार बाँधमुनि रहेको सुलिसगेट नियमित रूपमा नखोलिँदा लालबकैया र बागमती नदीको पानी निकास हुन नसकी नेपाली बस्तीमा फर्किने गरेको छ। नेपाल पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले बाँधमा थपिएको माटोले बाढीको जोखिम झन् बढाएको बताए। उनका अनुसार वर्षायाममा पानीको निकास रोकिने र गौर बजारसहित आसपासका क्षेत्र जलमग्न हुने समस्या वर्षेनि दोहोरिँदै आएको छ।
स्थानीय बासिन्दाका अनुसार बाँधमुनि रहेको सुलिसगेट नियमित रूपमा नखोलिँदा लालबकैया र बागमती नदीको पानी निकास हुन नसकी नेपाली बस्तीमा फर्किने गरेको छ।
पूर्व नगरप्रमुख अजयकुमार गुप्ताले सीमा क्षेत्रमा एकपक्षीय रूपमा अग्ला संरचना निर्माण गर्नु दुई देशबीचको समझदारीविपरीत भएको बताए। “नेपालले आफ्ना क्षेत्रमा तटबन्ध बनाउन खोज्दा अवरोध गर्ने भारतीय पक्ष अहिले आफ्नै बाँध विस्तारमा सक्रिय देखिएको छ,” उनले भने।
उनका अनुसार वागमती नदीदेखि बकैया नदीपारि बन्जराहा गाउँसम्म फैलिएको बाँधकै कारण गौरका अधिकांश वडा र आसपासका गाउँहरू हरेक वर्ष प्रभावित हुँदै आएका छन्। डुबानले स्थानीय बासिन्दाको जनजीवन, कृषि उत्पादन र भौतिक संरचनामा ठूलो क्षति पुर्याउँदै आएको छ।
यता रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतीय प्रशासनसँग यस विषयमा ध्यानाकर्षण गराइसकेको बताए। भारतीय पक्षले भने केन्द्रीय सरकारको निर्देशनअनुसार बाँध मर्मतको काम भइरहेको जानकारी दिएको उनले बताए।
स्थानीय तहका जनप्रतिनिधि तथा नागरिक समाजले सीमा क्षेत्रमा भइरहेका यस्ता गतिविधिबारे नेपाल सरकारले कूटनीतिक पहल बढाउनुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार समस्या वर्षौँदेखि दोहोरिए पनि दीर्घकालीन समाधानको पहल प्रभावकारी हुन सकेको छैन।
भारततर्फको बाँध र बन्द सुलिसगेटका कारण राजदेवी नगरपालिका, गौर नगरपालिका र इशनाथ नगरपालिकाका विभिन्न बस्ती हरेक वर्ष डुबानमा पर्दै आएका छन्। स्थानीयका अनुसार यसबाट करोडौँ रुपैयाँ बराबरको धनजन तथा बालीनालीमा क्षति हुँदै आएको छ।
वर्षायाम सुरु भएसँगै गौरवासी फेरि एकपटक सम्भावित बाढी र डुबानको चिन्तामा परेका छन्।
प्रतिक्रिया दिनुहोस