काठमाडौं / फिफा विश्वकप २०२६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा जापानले अन्तिम समयमा गोल गर्दै नेदरल्यान्ड्सलाई २–२ को बराबरीमा रोकेको छ। दुईपटक अग्रता बनाएको डच टोलीले जित नजिक पुगेर पनि तीन अंक जोड्न सकेन ।
डलास स्टेडियममा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। दोस्रो हाफ सुरु भएपछि भने दुवै टोलीले आक्रामक खेल प्रदर्शन गर्दै चार गोल गरेका थिए।
नेदरल्यान्ड्सले ५०औं मिनेटमा कप्तान भर्जिल भान डाइकको हेडरमार्फत अग्रता लिएको थियो। तर जापानले सात मिनेटमै जवाफ फर्कायो। केइतो नाकामुराले सुन्दर फिनिसिङ गर्दै खेल १–१ को बराबरीमा ल्याए।
बराबरीपछि दबाब बढाएको नेदरल्यान्ड्सले ६४औं मिनेटमा क्रिसेन्सो समरभिलको गोलमार्फत पुनः अग्रता बनायो। त्यसपछि खेल डच टोलीको पक्षमा जाने अनुमान गरिएको थियो।
तर अन्तिम समयमा जापानले हार स्वीकारेन। ८९औं मिनेटमा कर्नरबाट आएको बललाई डाइची कामाडाले हेडरमार्फत जाली चुमाउँदै खेल २–२ को बराबरीमा पु¥याए। त्यसपछि बाँकी समयमा कुनै टोलीले निर्णायक गोल गर्न नसकेपछि खेल बराबरीमा सकियो।
रोमाञ्चक बराबरीसँगै दुवै टोलीले एक–एक अंक बाँडे भने जापानले अन्तिमसम्म संघर्ष गर्ने आफ्नो क्षमता फेरि एकपटक प्रमाणित गरेको छ ।
प्रतिक्रिया दिनुहोस