२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

‘भारत र चीनको सहकार्यमा नेपाललाई भूपरिवेष्टितबाट भूजडितमा रूपान्तरण गर्ने सङ्कल्प’

मंगलवार , श्रावण २०, २०८२

आवाजा (तुर्कमेनिस्तान) । प्रधानमन्त्री केपी शर्मा ओलीले साझा जिम्मेवारीसहित समावेशी विश्वव्यापी साझेदारीमार्फत समृद्धिको यात्रामा अघि बढ्न भूपरिवेष्टित मुलुकहरूलाई आग्रह गरेका छन् । उनले पूर्वाधार विकास र प्रविधिको सदुपयोगसहित नेपाललाई भूपरिवेष्टितबाट भूजडितमा रूपान्तरण गर्ने सङ्कल्प पनि प्रस्तुत गरे ।

तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको प्लेनरीसत्रमा अल्पविकसित (एलडिसी) मुलुकहरूको समूहका साथै नेपालका तर्फबाट आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गाढारूपमा क्षेत्रीय र अन्तरराष्ट्रियस्तरको सहकार्य बढाएमा समृद्धिको गन्तव्य पुग्न यी मुलुकका भूगोल लामो समयसम्म अवरोधक हुन नसक्ने स्पष्ट गरे ।

जलवायु परिवर्तन र विपद् जोखिमका खतराका कारण भूपरिवेष्टित मुलुक प्रताडित भएको उल्लेख गर्दै उनले डिजिटल अर्थतन्त्रमा अगसर हुँदै समावेशी र अनुकूलन आर्थिक वृद्धिको यात्रामा दृढ सङ्कल्प र स्पष्ट योजना ल्याउन आवश्यक भएको बताए ।

उनले बलियो राजनीतिक इच्छाशक्ति, कुनै पनि देशलाई पछाडि नछाड्ने नवीकृत र बलियो विश्वव्यापी साझेदारी, सबै तहमा समन्वयात्मक कार्य गर्न भूपरिवेष्टित मुलुकलाई सुझाव दिए ।

उनले भने, “म दृढ विश्वास छ, सही नीति, बलियो ऐक्यबद्धता र समर्थनको साथ यी मुलुकले भूपरिवेष्टितबाट भूजडितमा, पारवहन आश्रितबाट व्यापार प्रतिस्पर्धी र जलवायु जोखिमपूर्णबाट जलवायु अनुकूलनमा रूपान्तरण गर्न उत्कृष्टता प्रदर्शन गर्नेछन् ।”,

उनले थप भने, “हामीले संरचनात्मक रूपान्तरण, व्यापार सहजीकरण र क्षेत्रीय एकीकरण, पारवहन, यातायात र कनेक्टिभिटी, जलवायु अनुकूलनका नीति लिएर समानता, समावेशीकरणसहित साझा अवसरको लागि मार्ग समात्नुपर्नेछ ।”

भूगोलकै आधारमा अब कुनै पनि मुलुकको भाग्य निर्धारण हुन नहुने भन्दै बलियो साझेदारी, स्मार्ट लगानी र अटल सामूहिक इच्छाशक्तिको साथ आफूहरूले भूपरिवेष्ठितताका सिमितता पार गर्न सकिने प्रधानमन्त्री ओलीको विश्वास छ ।

“विकासको खाडललाई कम गर्न क्षेत्रीय एकता र विश्वव्यापी सहयोग महत्त्वपूर्ण हुन्छ भन्ने विश्वास हामीलाई छ । हामी हाम्रा छिमेकी भारत र चीनसँग मिलेर धेरै क्षेत्रहरूमा कनेक्टिभिटी र सहकार्य बढाउन काम मिलेर गरिरहेका छौंँ,”, प्रधानमन्त्री ओलीले भने, “हामी विश्वस्त छौँ कि हाम्रा छिमेकी भारत र चीन तथा व्यापक अन्तरराष्ट्रिय समुदायको निरन्तर समर्थनले, हामी भूपरिवेष्ठितताको अवरोधलाई अवसरको प्रवेशद्वारमा रूपान्तरण गर्न सक्नेछौँ ।”

उनले भूपरिवेष्टित मुलुुकको परिवारको सदस्यका रूपमा सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गर्दै यस रूपान्तरणको लाभग्राही मात्र नभइ एक साझेदारका रूपमा नेपाल रहने बताए । उनले नेपालले ‘आवाजा कार्यक्रमको कार्यढाँचा’ लाई समर्थन गर्दै यसलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई जोडर कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

आजदेखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई सम्बोधनको क्रम जारी रहेको छ । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता पनि गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट