बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो तलब भत्ताबाट निर्वाचन क्षेत्रका गरिब र विपन्न परिवारका घर निर्माण गरिने घोषणा गरेका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश समितिद्वारा हेटौँडामा आज आयोजित स्वागत तथा बधाई कार्यक्रम उनले गरिब, विपन्न समुदायको पीडालाई आफूले नजिकबाट बुझेको बताउँदै यस्तो घोषणा गरेका हुन् ।
राजनीति घाटा नाफाको व्यापार नभई सेवा, धर्म भएकाले आफू जनताको सेवामा समर्पित भई लाग्ने प्रतिबद्धता उनले जनाए ।
मुख्यमन्त्री बानियाँले सत्य, न्याय र इन्साफ गरिब निमुखाको पक्षमा उत्तरदायी, जिम्मेवार, पारदर्शी र जवाफदेही भएर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरे ।
जनतालाई न्याय, शान्ति र विकासको अनुभूति हुने गरी काम गर्ने उनले बताए ।
कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताले मुख्यमन्त्री तथा कांग्रेसबाट मन्त्री भएका बिनाविभागीयमन्त्री शिवराज अधिकारी र खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङलाई स्वागत तथा सम्मान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस