काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा तीन प्रकारले शिक्षकको बढुवा गर्ने सहमति भएको छ । समिति परामर्श तथा समन्वय उपसमितिले गरेको सहमतिलाई शिक्षा समितिले पारित गरेको हो ।
जसअनुसार, आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन र कार्यक्षमताको मूल्यांकनबाट बढुवा गर्ने सहमति भएको छ ।
परामर्श उपसमितिमा भएको सहमतिको आधारमा प्रस्तुत उक्त प्रस्ताव समितिको बैठकमा छलफल भएको हो ।
यसअघि, उपसमितिको प्रतिवेदनमा शिक्षकको बढुवाका लागि आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको व्यवस्था थियो ।
त्यस्तै, समितिको बैठकमा विद्यायलय शिक्षा विधेयकमा शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव पनि पारित भएको छ ।
शिक्षकको कार्यसम्पादन मूल्याङ्कनको गणना गर्दा पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कन औसतमा ९० प्रतिशत प्राप्त गरेको हुनुपर्ने प्रतिवेदनको प्रस्तावित व्यवस्थाको सट्टा ८० प्रतिशत गर्ने प्रस्ताव पारित भएको हो ।
नेपाल शिक्षक महासङ्घको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा निजको नेपाल शिक्षक महासङ्घको सदस्यता स्वतः निष्क्रिय हुने प्रस्ताव पनि समितिले पारित गरेको छ ।
निज प्रधानाध्यापक रहँदासम्म महासङ्घको तर्फबाट कुनै गतिविधि गर्न नपाउने व्यवस्था समिति बैठकले पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस