विराटनगर । कोशी प्रदेश सभाको शुक्रबार बसेको बैठकको शून्य समयमा विभिन्न दलका सांसदहरूले जनताका समस्याहरू तत्काल समाधान गर्नुपर्ने माग गरेका छन् । जनताका प्रतिनिधिहरूले पटक–पटक उठाएका मुद्दा सरकारले सम्बोधन नगरेको भन्दै उनीहरुले सम्बोधन गर्न माग गरेका हुन् ।
हात्तीको आतङ्कदेखि सडकमा धान रोपाइँसम्म
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सविना बजगाईँले झापा र आसपासमा बढ्दो हात्तीको बिगबिगी रोक्न सरकारले स्पष्ट र दीर्घकालीन योजना ल्याउनुपर्नेमा जोड दिइन् । उनले लम्की स्कीन नियन्त्रणका लागि खोप कार्यक्रम तत्काल लागू गर्नुपर्ने र एशियन हाईवेमा सुस्त गतिमा भइरहेको कामलाई तीव्र बनाउन आग्रह गरिन् ।
सडक निर्माण ढिलाइको उदाहरणका रूपमा उनले हुलाकी राजमार्ग अन्तरगत कटहरीमा जनताले सडकमै धान रोपेको घटनालाई सदनमा उजागर गरिन् ।
रेबिज र सर्पदंश उपचार संकट
नेपाली कांग्रेसका सांसद विनोद राईले भोजपुरमा कुकुरको टोकाइ तथा सर्पदंशका बिरामीलाई समयमै उपचार गर्न आवश्यक रेबिज भ्याक्सिन र एन्टी–भेनम जिल्ला अस्पतालमै उपलब्ध गराउन माग गरे ।
उनले ट्याम्केमैयुका सम्राटजंग विष्टको उदाहरण दिँदै, एम्बुलेन्समार्फत धरान ल्याउने क्रममा ढिलाइ र उपचार अभावका कारण ज्यान गुमाउनुपरेको दुःखद् घटना सुनाए । “यस्ता आधारभूत स्वास्थ्य सेवा पनि जिल्ला अस्पतालमा नहुँदा जनताले अकालमा ज्यान गुमाउनु परेको छ, राईले भने ।’’
भाषा विवादमा सांसदको आपत्ति
नेकपा माओवादीका सांसद गणेश उप्रेतीले कोसी प्रदेशको कामकाजी भाषा लिम्बु र मैथिली तोक्ने गैरसरकारी विधेयक अस्वीकृत भएपछि केही सांसदमाथि अपमानजनक टिप्पणी भएको आरोप लगाए । यसमा एमालेका प्रमुख सचेतक विदुर लिङ्थेपले नियमापत्ति जनाउँदै, अपमानजनक भनाइ प्रदेश सभाको रेकर्डबाट हटाउन माग गरे ।
स्वतन्त्र मिडियामा हस्तक्षेपको आरोप
नेपाली कांग्रेसकी सांसद शोभा चेम्जोङले अनलाइन मिडिया जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्ने प्रस्तावलाई स्वतन्त्र सञ्चारमाथिको हस्तक्षेप भन्दै विरोध गरिन् । उनले स्वतन्त्र निकायमै नियमनको अधिकार रहने व्यवस्था कायम गर्न आग्रह गरिन् ।
‘हामी बजेट लिन मात्रै आएका होइनौं’
सांसद खगेश्वरी पौडेलले विगत ३२–३३ महिनामा सांसदहरूले उठाएका मुद्दा सरकारले सम्बोधन नगरेको गुनासो सुनाइन् । “हामीले बोलेका विषयको जवाफसम्म नआउँदा लाग्छ, हामी बजेट लिन मात्रै आएका हो कि जस्तो,“ उनले भनिन् ।
उनले गाउँघरमा बढ्दो बाँदर आतङ्क नियन्त्रणका लागि पनि सरकारलाई कदम चाल्न आग्रह गरिन् ।
संस्कृति संरक्षण र कानुन निर्माणको माग
एमालेका सांसद किशोरचन्द्र दुलाल, नम्बरलाल धिमाल र नेकपा माओवादीका सांसद गम्बु शेर्पाले पनि समसामयिक विषयमा बोलेका थिए ।
धिमालले थान संस्कृति संरक्षणका लागि सरोकारवालाबीच संवाद भइसकेकाले अब तत्काल कानुन निर्माणमा अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस