काठमाडौं। पशुपतिनाथ मन्दिर परिसरस्थित हंशमण्डपमा आयोजित दशमहाविद्या रुद्रहवन महायज्ञमा भारतका केन्द्रीय मन्त्री सर्बानन्द सोनोवाल सहभागी भएका छन् ।
पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका सोनोवालले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको बताउँदै धार्मिक पर्यटन प्रवर्द्धन गर्न सहयोग गर्ने प्रष्ट पारेका छन् । मन्त्री सोनावालले जनस्तरमै रहेको सम्बन्ध अझै बलियो बनाउँदै आर्थिक समुन्नतिका लागि सहकार्यमा जोड दिए ।
धार्मिक अभियन्ता स्वामी महामण्डलेश्वर कृष्णनन्द परमहंश कालिदास बाबा (कालीबाबा) को निमन्त्रणामा काठमाडौं आएका मन्त्री सोनोवालले दशमहाविद्या रुद्रहवनमा पूजाआराधना पनि गरे ।
महायज्ञका प्रमुख सल्लाहकार डा. मिलनकुमार थापाका अनुसार धार्मिक पर्यटन प्रवर्द्धन, आर्थिक विकासमा सहकार्य र समुन्नतिको नवीन रुपान्तरणको लक्ष्यका साथ महायज्ञ आयोजना गरिएको हो ।

कालिका साधना आश्रम नेपालको अध्यक्षमा डा. थापा
सनातन धर्म रक्षा र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्था कालिका साधना आश्रम नेपालको अध्यक्षमा डा. मिलनकुमार थापा नियुक्त भएका छन् ।
धार्मिक अभियन्ता, अन्तर्राष्ट्रिय सन्त स्वामी महामण्डलेश्वर कृष्णनन्द परमहंश कालिदास बाबा (कालीबाबा) ले असार ३ गतेको निर्णयअनुसार डा। थापालाई अध्यक्ष नियुक्त गरेका हुन् ।
भारतका केन्द्रीय बन्दरगाह, परिवहन र जलमार्गमन्त्री सर्बानन्द सोनोवालको प्रमुख आतिथ्यमा आयोजित समारोहमा अध्यक्ष नियुक्त भएका डा. थापाले आइतबार कार्यभार ग्रहण गरेका छन् ।

डा. थापाले कालिका साधना आश्रमले नेपालको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने, संस्कृति र परम्परामा आस्था राख्ने विश्वभरिका सनातनीहरूलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्ने र आर्थिक विकास र समुन्नतिको आधारशीला तयार गर्ने उद्देश्यका साथ अघि बढ्ने प्रष्ट पारेका छन् ।
‘कालिका साधना आश्रम विशुद्ध धार्मिक र सामाजिक संस्था हो, यस संस्थालाई समाजसँग जोडेर प्राचीन विज्ञानमा आधारित ज्ञान र शिक्षालाई अघि बढाउने र नेपालको समृद्धिका लागि देशमा प्रमुख धार्मिकस्थलको प्रचारप्रसार गर्ने कार्यमा अघि बढाइने छ,’ डा. थापाले भने ।
प्रतिक्रिया दिनुहोस