२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

पहिरोले बेनी-जोमसोम सडकमा निरन्तर पहिरो, यात्रा असहज

बिहिवार , श्रावण २९, २०८२

म्याग्दी । कालिगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी–जोमसोम कोरला सडक खण्डमा ठूला पहिरोले सवारी यात्रा असुरक्षित र असहज समेत बनाएको छ ।

कालोपत्रे सहित सडक स्तरोन्नति जारी रहेको यस सडकखण्डमा म्याग्दीको रघुगंगा गाउँपालिका– २ सिरुवारी, अन्नपूर्ण गाउँपालिका– ३ दानाको खामभित्ता, गुइँठेभिर, रुप्सेछहरा, र सुकेबगर, अन्नपूर्ण– ७ को महभिर लगायतका ठाउँमा निरन्तर पहिरो खसेर सडक अवरुद्ध हुने गरेका छन् ।

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत सिरुवारी, गुइँठेभिर, खामभिक्ता लगायतको ठाउँमा पहिरो रहेको र सामान्य रोकथामबाट पहिरोलाई नियन्त्रण गर्न नसकिने अवस्थामा रहेको बेनी–जोमसोम कोरला सडक आयोजनाका योजना प्रमुख ध्रुव कुमार झाले जानकारी दिए । उनले भने, ‘‘वर्षातमा यो क्षेत्रमा निरन्तर रुपमा पहिरो खस्ने गरेको छ, हामीले पहिरोग्रस्त क्षेत्रमा अबरुद्ध हुने सडकलाई डोजर लगाएर खुलाउने गरेका छौँ, तर पहिरोको स्थायी समाधान नभएसम्म बर्खायाममा सडक सुरक्षित बनाउन सम्भव देखिएको छैन ।’’

पहिरोग्रस्त क्षेत्रको भूगर्वविद्हरुको टोलीद्वारा विस्तृत अध्ययन गरी रोकथामको लागि प्रक्रिया अघि बढाइएको भएपनि पहिरो नियन्त्रण र रोकथाम योजनामा कुनैपनि निर्माण कम्पनीले ठेक्का प्रक्रियामा भाग नलिएपछि पहिरो रोकथामको योजना अलपत्र परेको छ । गत वर्ष आयोजनाले पहिरो नियन्त्रण र रोकथामका लागि रु २० करोड बजेट विनियोजन गरेर ठेक्का आह्वान गरेको भएपनि निर्माण कम्पनीले ठेक्कामा भाग नलिएपछि काम सुरु हुन नसकेको हो । चालु आर्थिक वर्षमा समेत पहिरो रोकथाम र नियनत्रण योजनाको लागि विनियोजन भएको बजेटलाई कार्यान्वयनका लागि ठेक्का प्रकृया अघि बढाइएको योजना प्रमुख झाले जानकारी दिए ।

बेनीदेखि घाँससम्म करिब ४० किलोमिटर सडक खण्डमा १० वटा पहिरो छन् । यस स्थानमा भएका पहिरोको विस्तृत अध्ययन गरेपनि रोकथाम र नियन्त्रणको काम सुरु नहुँदा हरेक बर्खायाममा म्याग्दीको रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङ जिल्लाका सर्वसाधारण तथा पर्यटक र तिर्थयात्रीहरुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

पानी पर्दासाथ पहिरो खस्ने समस्याले सडकयात्रा जोखिमपूर्ण भएको अन्नपूर्ण गाउँपालिका– ३ दानाका वडा अध्यक्ष रमेश पुर्जाले जानकारी दिए। ‘‘ यो समयमा रातमा यात्रा गर्न उपयुक्त छैन, ठाउँ ठाउँमा पहिरोले सास्ती दिने गरेको छ, वर्षा नरोकिँदा सम्म बेनी–घाँसा खण्डको यात्रा निकै जोखिमपूर्ण छ’’– वडा अध्यक्ष पुर्जाले भने । बेनी–जोमसोम सडकमा पहिरोका कारण वर्षातको समयमा यातायात प्रभावित हुने गरेको छ भने यात्रुले सास्ती खेप्दै आएका छन् । सडक विस्तार गर्नुभन्दा अघिसम्म अहिले गएका ठूला पहिरो नभएकाले सडक कालोपत्रे सहितको योजनामा पहिरो नियन्त्रणको काम समावेश गरिएको थिएन । कालोपत्रे सहित स्तरोन्नती भैरहेको बेनी–जोमसोम सडकखण्डमा करिब ८५ प्रतिशत भौतिक प्रगति भैसकेको छ ।

आयोजनाले गत वर्ष नै ठूला पहिरोको जोखिम र रोकथामबारे विस्तृत अध्ययन गरेपनि रोकथामको काम भने अझै सुरु भएको छैन । यस सडकखण्डमा हरेक वर्ष नयाँ ठाउँमा पहिरो खस्ने समस्या बढेको छ । कालीगण्डकी नदी किनार हुँदै विस्तार भएको बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दी खण्डमा सडक विस्तारको भूगोल साँघुरो रहेको छ भने कमजोर भू–बनोटका कारण नयाँ नयाँ ठाउँमा पहिरो खस्नेक्रम बढ्दो छ । यो बर्ष महभिरमा नयाँ पहिरो खस्न थालेको छ ।

पहिरोका कारण जोखिमयुक्त बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा मंगलवारदेखि रातको समयमा सवारीसाधन चलाउन बन्द गरिएको छ। जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको निर्णयअनुसारसाउन २७ गते बेनीदेखि घाँसासम्मको सडकमा साँझ ६:०० देखि बिहान ५:०० बजेसम्म सवारी आवतजावत बन्द गरिएको हो । वर्षासंगै ठाउँ ठाउँमा ठूला पहिरोको जोखिम बढेको र सडक अबरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवत जावत बन्द गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट