विराटनगर । कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय उद्घाटन गरेको छ। प्रदेशको राजस्व संकलनमा सहजीकरण गर्ने उद्देश्यले यो कार्यालय खोलिएको हो।
प्रदेशको क्षेत्राधिकार भित्रपर्ने विषयमा आवश्यक सहजीकरण गर्न र प्रदेशको राजस्वलाई वृद्धि गर्नको लागि सोमबारदेखि कार्यालय सञ्चालनमा ल्याइएको हो।
कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले सुनसरीको इटहरीमा प्रदेश राजस्व कार्यालयको उद्घाटन गरे । कार्यालयको उद्घाटन गर्दै मन्त्री मगरले प्रदेश सरकारले सोचेअनुसारको राजस्व संकलन गर्न नसकिरहेको परिपेक्ष्यमा कार्यालय उद्घाटन गरिएको बताए ।
उनले जनतालाई करको बोझ नहुने गरी राजस्व वृद्धि गर्नका लागि कार्यालय सञ्चालनमा ल्याइएको स्पष्ट पारे । उनले भने 'कुन कुन क्षेत्रबाट राजस्व उठाउन सकिएको छैन त्यसको पहिचान गरेर कार्यालयले राजस्व उठाउन सहजीकरण गर्नेछ।'
प्रदेश सरकारहरूमा पहिलोपटक कोशी प्रदेश सरकारले यस्तो कार्यालय स्थापना गरेको हो। कोशीप्रदेश सरकारले गत आर्थिक वर्षमा ४ अरब ९८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ९८% सफलता हासिल गरेको थियो। चालु आबमा कोशी प्रदेश सरकारले ५ अरब ५० करोड राजस्व उठाउने लक्ष्य राखेको छ।
कार्यालय उद्घाटन समारोहमा कोशी प्रदेश सभाका सदस्य रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर मोहन सुवेदी लगायतले बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस