ओसाका, जापान । ओसाकामा अवस्थित स्काई कम्पनीले यस वर्ष पनि नेपालीहरूको महान पर्व तीजको अवसरमा भव्य दर खाने तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। जापानी तथा नेपाली कर्मचारीहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममा १६० भन्दा बढीको उपस्थिति रहेको थियो।
सन् २०१५ मा कम्पनी स्थापना भएदेखि नै स्काई कम्पनीले दर खाने कार्यक्रमलाई आफ्नो वार्षिक परम्परा बनाउँदै आएको छ। यसै परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि कर्मचारीबीच आपसी सद्भाव, सहयोग र संस्कृतिको आदान–प्रदान गर्ने उद्देश्यसहित दर खाने कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको शुरुवात कम्पनीका प्रबन्ध निर्देशक अग्नि त्रिपाठीले शुभकामना मन्तव्य दिँदै गरेका थिए।
कार्यक्रममा नेपाली परम्परागत भोजन, सांस्कृतिक नृत्य र गीत–संगीतका आकर्षक प्रस्तुति समावेश गरिएका थिए। विशेषगरी, तीज गीतमा आधारित दोहोरी ब्याटलले सबैको ध्यान खिच्यो। जापानी कर्मचारीहरूले समेत नेपाली संस्कृतिको रंगमा रमाइलो गर्दै नृत्य–संगीतमा सक्रिय सहभागिता जनाएका दृश्यहरूले कार्यक्रममा नयाँ रंग थपेको सहभागीहरूले बताएका छन्।
सहभागी नेपालीहरूले विदेशमा रहे पनि आफ्नै संस्कृतिलाई जोगाउन र साझा खुशी बाँड्न यस्ता कार्यक्रमले ठूलो योगदान पुर्याएको अनुभव सुनाए। “दिनभरको थकानलाई रमाइलो र खुसीमा बदल्न पाउनु हाम्रो लागि विशेष क्षण हो,” उनीहरूले भने।
कम्पनी व्यवस्थापनले पनि यस्ता सांस्कृतिक कार्यक्रमले कर्मचारीबीच आत्मीयता, आपसी समझदारी र कार्यक्षमता बढाउने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस