२०८३, आषाढ १७ गते

बुधवार, आषाढ १७ गते २०८३

पद्मकन्या बहुमुखी क्याम्पसले विभिन्न कार्यक्रम गरी मनायो १६०औँ मोतीजयन्ती

बिहिवार , भाद्र ५, २०८२

काठमाडौँ । पद्मकन्या बहुमुखी क्याम्पसको ७५औँ वार्षिकोत्सव/हीरकजयन्ती, नेपाली स्नातकोत्तर कार्यक्रमको ३६ औँ वार्षिकोत्सव, अवकाशप्राप्त प्राध्यापक सम्मान एवम् युवाकवि मोतीराम भट्टको १६० औँ मोतीजयन्तीका अवसरमा आयोजित कविता प्रतियोगिता एकसाथ सम्पन्न भएको छ ।

पद्मकन्या बहुमुखी क्याम्पसको डेनिस सभाहलमा सम्पन्न कार्यक्रममा नेपाली विभागमा तीन दशक लामो प्राध्यापन यात्रा पूरा गरी निवृत्त भएकी उपप्रा. उपमा आचार्यलाई सम्मान गरिएको थियो ।

नेपाली विभागका विभागीय प्रमुख उपप्रा.डा. अम्बिका अर्यालको अध्यक्षता, क्याम्पस प्रमुख प्रा.डा. जयालक्ष्मी प्रधानको प्रमुख आतिथ्यता, प्रा.डा. सुष्मिता तालुकदारको निर्णायक संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली स्नातकोत्तर कार्यक्रम एवम् मोतीजयन्ती कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सहप्रा.डा. शैलेन्द्रुप्रकाश नेपालले भने, ‘तिस वर्षको उमेर बाँची माध्यमिककालीन नेपाली साहित्य र शृङ्गारिक धारालाई स्वर्णीम तुल्याउन विशिष्ट भूमिका निर्वाह गर्नुहुने मोतीराम भट्ट भानुभक्तको कवित्वका पर्याय हुन् तथा उनै कविको जन्मोत्सव र नेपाली भाषासाहित्यलाई हुर्काउन, संरक्षण गर्न र सोही क्षेत्रमा लाग्न सक्ने दक्ष जनशक्ति निर्माण गर्ने अभिप्रायका साथ स्थापित नेपाली स्नातकोत्तर कार्यक्रम पद्मकन्या क्याम्पसको विशेष एवम् ऐतिहासिक कार्यक्रम हो ।’

तत्कालीन क्याम्पस प्रमुख चेतोनाथ गौतमलगायत प्राज्ञिक व्यक्तिहरूको विशेष पहलमा नेपाली स्नातकोत्तर कार्यक्रम आजभन्दा ३६ वर्षअघि भाद्र ५ गते स्थापना गरिएको थियो । २०४८ सालबाट स्नातकोत्तर कार्यक्रममा प्राध्यापन प्रारम्भ गरी वर्तमान समयसम्म अविछिन्न अध्यापन कार्यमा संलग्न सहप्रा. प्रभा भट्टराईले प्रारम्भिककालीन शिक्षण अनुभूति स्मरण गर्दै भनिन्, ‘मैले स्नातकोत्तर उत्तीर्ण गर्नेबित्तिकै तत्कालीन क्याम्पस प्रमुख एवम् आदरणीय गुरु चेतोनाथ गौतमको आग्रहमा बडो सङ्कोचका साथ पढाउन सुरु गरेँ, काकी, दिदी उमेरका विद्यार्थी पछि साथीसरह भए । नारी सशक्तीकरण र नारीका लागि मात्र खोलिएको एक मात्र कलेज पद्मकन्यामा अध्यापन गर्न पाउनु गर्वको विषय हो । नारी शिक्षाको पहिलो पाइलो चाल्ने यो शिक्षा मन्दिरले ७५ औँ वर्षको वसन्त देखिसकेको छ ।’

हीरकजयन्तीका अवसरमा भदौ २ गते निबन्ध, ३ गते वक्तृताकला, ४ गते हाजिरीजबाफ तथा ५ गते कविता प्रतियोगिता सञ्चालन गरी सप्ताहव्यापी साहित्यिक कार्यक्रम सम्पन्न गरिएको हीरकजयन्ती साहित्यिक उपसमितिका संयोजक सहप्रा.डा. बलदेव अधिकारीले जानकारी दिए ।

हरेक दिन दर्जनौँ विद्यार्थीहरूको उत्साहपूर्ण उपस्थिति रहेको सो कार्यक्रममा निबन्ध प्रतियोगितामा रचना सापकोटा, केशीस शाह र अस्मिता कुमारी माझी, वक्तृताकला प्रतियोगितामा पार्वती बानियाँ, ईशा ढुङ्गाना एवम् आस्था श्रेष्ठ र सिर्जना तामाङ, हाजिरीजबाफ प्रतियोगितामा मनिषा यादवको समूह, अनमिका रेग्मीको समूह र समीक्षा पौडेलको समूह, तथा अन्तिम दिन सम्पन्न कविता प्रतियोगितातर्फ पुस्तिका भण्डारी, समीक्षा नेपाल र कमला महत क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए ।

कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थी छात्राहरूको उल्लेखनीय एवम् उत्साहजन उपस्थिति रह्यो । २००८ सालमा स्थापित नारी मात्रको अध्ययन थलो रहेको पद्मकन्या बहुमुखी क्याम्पसले आफ्नो ७५ औँ वार्षिकोत्सव अर्थात् हीरकजयन्ती आगामी असोज १ गते स्थापना दिवसको दिन विशेष समारोह गरी मनाउँदैछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट