काठमाडौं । नेपालको पहिलो उद्योगको रुपमा स्थापित विराटनगर जुट मिलले कुनै एक घरानाको इतिहास मात्र होइन, नेपाली औद्योगीकरणकै इतिहास बोकेको छ ।
रामलाल गोल्छाले वि.सं.१९९३ मा स्थापना गरेको जुट मिलको आधारलाई नै अहिले गोल्छा ग्रुपको चौथो पुस्ताले प्राथमिकताका साथ अगाडि बढाइरहेका छन् । आरके गोल्छा ग्रुपलाई राजकुमार गोल्छाले हाँकिरहेका छन् भने चौथो पुस्ता अर्थात् राजकुमारकी छोरी कोमल गोल्छाले 'लिगेसी'लाई काँध दिँदै जुटलाई व्यवसायिक रुपमा विस्तार गर्न नयाँ सम्भावनाको खोजी गरेकी छिन् ।

२७ वर्षीय कोमल केही वर्षदेखि जुटलाई आधुनिकीकरण गर्न लागिपरेकी छिन् । व्यवसायिक यात्राको ७औँ वर्षमा उनी जुटबाट निर्माण भएका सामाग्रीलाई देश भित्र मात्र नभई अन्तर्राष्ट्रियकरण गर्न समेत कस्सिएकी छिन् ।
कोमलले बुधबार अर्थात् भदौ ४ गतेदेखि ललितपुरको कुपण्डोलमा ‘कोशा’ ब्राण्डको आउटलेट सञ्चालनमा ल्याएकी छिन् । कोशाकी सञ्चालिका तथा परिकल्पनाकार कोमलले झण्डै एक वर्षको गहन अध्ययनपछि जुटको बजारीकरणमा जाने निष्कर्षमा पुगिन् । फलस्वरुप जुटका सामाग्री, त्यो पनि आधुनिक डिजाइनमा उत्पादन गरेर बजारमा ल्याउन उनी सफल भएकी छिन् ।

कोशाका सामाग्रीहरु विराटनगरमा उत्पादन हुने गर्छ । करिब ४ हजार कामदारबाट परम्परागत कला र आधुनिक डिजाइनको मिश्रणमा कोशाले आफ्ना उत्पादनहरु तयार गर्छ । आकर्षक उत्पादनहरुले भरिएको कोशाको आउटलेटलाई बुधबार ललितपुरका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरे । उद्घाटनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कोशाको उत्पादन प्लाष्टिकको राम्रो विकल्पको रुपमा रहने बताए ।

उनले ललितपुर महानगरपालिकाले प्लाष्टिकका झोला ब्याण्ड गर्न लागेको र यसका लागि कोशासँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए । उनी भन्छन्, ‘ललितपुर महानगरपालिका एउटा हस्तकला नगरी हो । यसको निमित्त हामी उहाँहरुसँग कुन क्षेत्रमा कसरी काम गर्न सकिन्छ, तयार छौँ ।’ उनले ललितपुर महानगरपालिका भित्र प्रत्येक घरमा एउटा झोला वितरण गर्ने पनि बताए ।

गोल्छा ग्रुपका प्रबन्ध निर्देशक राजकुमार चौथो पुस्ताले जुटमा देखेको आधुनिकीकरणप्रति उत्साहित छन् । बुधबार कोशाको आउटलेट उद्घाटनमा भेटिएका उनले छोरी र श्रीमतीको नामको मिलनबाट यो ब्राण्डको नाम तयार भएको बताए । उनी भन्छन्, ‘मेरो हजुरबुबाले नेपालमा आएर गरेको पहिलो विजनेश नै जुट हो । अहिले हामीले विभिन्न ह्याण्डिक्राफ्टका सामाग्री देखि अन्य सामाग्री पनि बनाइरहेका छौँ । यसका लागि एउटै छानामुनि ४ हजार कामदारले काम गरिरहेका छन् ।’ उनले छोरीको डिजाइनमा तयार भएका उत्पादनहरु एकएक गरी देखाए ।

कोशाले व्यक्तिगतदेखि व्यवसायिक आवश्यकतासम्का लागि वातावरणमैत्री र उच्च गुणस्तरका उत्पादनहरु उपलब्ध गराउने बताउँछिन् सञ्चालिका कोमल । उनका अनुसार अहिले यस्तो प्रोडक्टको माग अत्याधिक देखिएको छ । उपभोक्ताको मागलाई मध्यनजर गर्दै आकर्षक ह्यान्डब्याग, रग्स, कार्पेट र टेबल म्याट जस्ता सामाग्रीलाई परम्परागत कला र आधुनिक डिजाइनमा तयार पार्दै आइरहेको छ ।

कोमल भन्छिन्, ‘जुट मेरो परम्परा हो । म जुटलाई नेपालको हरेक घरमा पुर्याउन चाहन्छु । वातावरण जोगाउन जुटलाई दिगा बनाउनै पर्छ ।’ जुट बुझाउन कत्तिको चुनौतीपूर्ण छ ? भन्ने प्रश्नमा उनी ढुक्क हुँदै भन्छिन्, ‘ग्राहकहरु अहिले के किन्दैछन् र कुन उत्पादन प्रयोग गर्ने भन्नेमा सचेत छन्, त्यसैले जुट त्यति चुनौतीपूर्ण लाग्दैन ।’

कोशाका लागि उनले धेरै जनशक्तिलाई लामो समयसम्म तालिम पनि दिइन् । अब कोशासँग पाँचतारे होटलले दिने ठूलो मात्राको अर्डर पनि सहजै पूरा गर्न सक्ने जनशक्ति छ । पाँचतारे होटलका लागि कोशाले कार्पेटदेखि टेबल म्याट, लन्डी बक्सदेखि स्लिपरसम्म, ल्याम्प सेपदेखि फर्निचर पनि तयार गर्न सक्ने कोमल बताउँछिन् । मौलिकता र आफ्नोपन झल्काउनका लागि जुटका सामाग्रीको प्रयोग उपयोगी हुने उनको भनाइ छ ।

उत्पादिन सामाग्रीको टिकाउबारे कोमल भन्छिन्, ‘जुटका उत्पादन कम खर्चालु छ। यी उत्पादन भएका वस्तुमा साह्रै पातलो ल्यामिनेसन गरिएको छ। टेबल म्याटमा पानी पोखिँदा पनि केही फरक पर्दैन। सपिङ ब्यागमा पनि भित्र ज्यादै पातलो प्लास्टिक लाइनिङ छ जसले यसलाई दिगो बनाउँछ। लामो समय टिकाउँछ।’ नेपालमात्र होइन जुटका सामाग्रीलाई विश्व बजारतिर पनि लैजानसक्ने आधार र योजना दुवै कोमलसँग छ । ‘म युरोप र अमेरिकी बजारमा यो बेच्न चाहन्छु,’ उनले भनिन्, ‘अहिले ट्यारिफका कारण अमेरिका पठाउँदा यसले बजार पाउँछ। किनकि यसखाले सामग्रीको माग राम्रो छ।’

किसानले उत्पादन गरेको सनपाट प्रशोधन गरेर निकालिने फाइबर नै जुट हो, जसबाट विभिन्नखाले वस्तु तयार हुने गर्छ। गोल्छा ग्रुपको चौथो पुस्ता कोमलको यो कदमले किसानदेखि उपभोक्तासम्मलाई जोड्ने देखिन्छ।
प्रतिक्रिया दिनुहोस