काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भएकी छिन् ।
समिति सभापतिमा उम्मेदवारी दिन सङ्घीय संसद् सचिवालयले तोकेको समयमा उनको मात्रै उम्मेदवारी परेपछि मंगलबार निर्विरोध निर्वाचित भएकी हुन् ।
निजामती विधेयकको कुलिङ पिरियड छेडखानीमा संसदीय छानबिन समितिले नैतिक जिम्मेवार ठहराएसँगै रामहरि खतिवडाले राजीनामा दिएपछि सभापति पद रिक्त थियो ।
सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले सोमबार सार्वजनिक गरेको निर्वाचनको कार्यतालिकामा मंगलबार दिउँसो एक बजेबाट ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो ।
उक्त समयमा कांग्रेस सांसद रामहरि खतिवडालाई प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठलाई समर्थक राखेर न्यौपानेले मात्रै उम्मेदवारी दर्ता गरेकी सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस