काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजा र धर्म साट्ने पार्टी भएको आरोप लगाएका छन् ।
आइतबार काठमाडौँमा नयाँ पार्टी गठनको गृहकार्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले राप्रपाले चुनावमा राजा र हिन्दु राष्ट्रको एजेन्डा बेचेर भोट माग्ने तर सत्तामा पुगेपछि काम नगरेको टिप्पणी गरे ।
राप्रपा विकास र जनताप्रति उत्तरदायी नभई सांसद बन्ने, सत्ता र भत्तामा मात्र सीमित भएको उनको भनाइ छ । सत्य बोल्नेलाई अराजक भन्ने गरिएको भन्दै उनले आफू सत्य बोल्न नडराउने र देश तथा जनताको लागि जस्तोसुकै अवस्था भोग्न तयार रहेको स्पष्ट पारे ।
वर्तमान व्यवस्थाले गरिबमाथि प्रहार गरेको, सहकारी पीडितलाई न्याय नदिएको र किसानले दुधको पैसा नपाएको भन्दै वर्तमान सरकार र प्रमुख राजनीतिक दलहरू धेरै नटिक्ने दावी समेत गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै नेता धवल शमशेरले मुलुकमा मजबुत राष्ट्रवादी शक्तिको खाँचो रहेको र त्यसलाई राप्रपाले पूरा गर्न नसकेका कारण नयाँ शक्ति निर्माण गर्नुपरेको बताए । उनले राजसंस्था र वैदिक सनातन हिन्दु अधिराज्य स्थापना नगरी देशले निकास नपाउने भन्दै सबै राजावादी, राष्ट्रवादी र हिन्दुवादी शक्तिलाई एक ठाउँमा आउन आह्वान समेत गरे ।
उनले निकट भविष्यमै पार्टीको नाम, झण्डा र चुनाव चिन्ह टुंगो लगाएर सातवटै प्रदेश, ७७ वटै जिल्ला र सबै स्थानीय तहमा संगठन विस्तार गरिने जानकारी दिए । आफूहरूको मिलन कुनै लोभ र लालचका लागि नभई देशलाई निकास दिनका लागि भएको शमशेरको दावी छ ।
प्रतिक्रिया दिनुहोस